मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा साहले दिए राजीनामा

जनकपुरधाम। मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा स्वीकृत भएको पत्र सार्वजनिक गरेका हुन्।

प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्य सञ्चालन ऐन, २०७५ को दफा १६(ख) बमोजिम करिब डेढ वर्षको कार्यकाल पूरा गरी उनले राजीनामा दिएका हुन्। हुन। डा साह २०८१ असार ८ गते उपाध्यक्षमा नियुक्त भएका थिए।

उनको कार्यकालमा मधेश प्रदेशको आवधिक योजना तर्जुमा भएको थियो भने ‘फिड द नेशन’ अभियान मुख्य योजनाका रूपमा अघि बढेको थियो। उक्त अभियानको देशभर प्रशंसा भएको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत मधेश प्रदेशसभामा गरेको सम्बोधनका क्रममा यस अभियानको प्रशंसा गरेका थिए। वर्तमान मुख्यमन्त्री कृष्णाप्रसाद यादवले पनि विश्वासको मत लिँदा प्रदेशसभामा यस अभियानलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्दता जनाएका थिए।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेशले सम्पूरक तथा विशेष अनुदान शून्य भएको थियो । उपाध्यक्ष डा साह नेतृत्वको आयोगले चालु आर्थिक वर्षमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरका योजना ल्याउन सफल भएको बताइएको छ। साथै, अनुगमन तथा मूल्यांकन कार्यविधि, प्रोजेक्ट बैंक निर्देशिका जस्ता नीतिगत व्यवस्थामार्फत आयोगको कामलाई प्रभावकारी बनाइएको आयोगका एक पदाधिकारीले बताएका छन्। मधेश प्रदेशको शिक्षा नीति निर्माणमा पनि उनको विशेष भूमिका रहेको बताइन्छ।

राजीनामाबारे प्रतिक्रिया दिँदै डा. साहले मुख्यमन्त्रीलाई आफ्नै कार्यशैलीअनुसार काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले मार्गप्रशस्त गरेको बताए। उनले संघीयताको पक्षधरका रूपमा भविष्यमा पनि मधेश प्रदेश सरकारलाई आवश्यकता परे सहयोगका लागि सधैं तत्पर रहने बताएका छन्।

उनको कार्यकालमा नीति तथा योजना आयोगलाई जनतासँग जोड्ने उद्देश्यले ‘नीति संवाद कार्यक्रम’ निरन्तर सञ्चालन गरिएको थियो। साथै, प्रदेशका अनुगमन तथा पोषणसम्बन्धी योजना तथा कार्यक्रमहरूमा पनि उनी सक्रिय रूपमा संलग्न रहेका थिए।

प्रतिक्रिया