सहिदनगर नगरपालिका : मेयर यादवको सालोको एक छोरा नगरपालिकाको ठेकेदार, अर्का जागिरेदार

जनकपुरधाम । स्थायी दरबन्दीबाट कार्यसम्पादन सम्भव नभएको अवस्थामा स्थानीय तहले करार सेवामा कर्मचारी नियुक्त गर्न सकिने कानुनी व्यवस्था छ । तर, कतिपय स्थानीय तहका जनप्रतिनिधिले त्यहीँ व्यवस्थाको आधार बनाएर करार सेवाका नाममा आफन्त र कार्यकर्ता व्यवस्थापन गरेको पाइएको छ ।
यता केही स्थानीय तहले बाहिर कर्मचारी अभाव देखाएर करारमा पदपूर्ति गर्नुको साटो आफ्ना मान्छेलाई भर्ती गर्ने परिपाटी स्थापित गरेको पाइन्छ ।
विज्ञापन अह्वान गरेर खुला तथा निष्पक्ष प्रतिस्पर्धाभन्दा जनप्रतिनिधिको भागबन्डामा कर्मचारी नियुक्त गर्ने गरेका छन् । विज्ञापन अह्वान तथा पत्रिकामा सूचना प्रकाशन कर्मचारी भर्नाका लागि प्रक्रिया पूरा गर्ने परम्परा मात्र बनेको छ । करार सेवाका नाममा आफन्त भर्ना गर्ने परिपाटी जस्तै बनेको छ ।
धनुषाको सहिदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवले आफ्नै सालोको छोरा विपिन कुमार यादवलाई कृषि प्राविधिकमा नियुक्ति गराएका छन् । २०८१ साल ९ महिना ७ गते नगरपालिकाले कृषि प्राविधिक (एक सिट) का लागि सूचना निकालेका थिए । सिट एउटा भएपनि आधा दर्जनभन्दा बढी व्यक्तिले आवेदन दिएका थिएका थिए ।
दोस्रो चरण अर्थात अन्तर्वाताका लागि नगरपालिकाले ५ जना उम्मेदवारको सूची प्रकाशन गर्यो । त्यसमा पहिलो नम्बरमा नगर प्रमुख यादवका आफन्त विपिनको नाम राखिएको थियो ।
अन्तिम नतिजा प्रकाशन हुदाँ विपिनलाई सफल उम्मेदवारको रुपमा सूची प्रकाशन गरियो । अन्तर्वातामा विपिन नै सफल भएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार महतोले उनलाई कृषि प्राविधिकमा नियुक्त गरे ।
‘मैले आवेदन दिइसकेपछि थाहा भयो की मेयरको सालोको छोरोले पनि आवेदन दिएका रहेछन्’ अन्तर्वातामा फेल भएका एक उम्मेदवारले भने,‘मेयरको आफन्तले पनि आवेदन दिएको थाहा भएको भए म आवेदन दिएर पैसा र समय खर्च गर्दिन थिए होला । स्थानीय तहमा योग्यता होइन नातागोताको अधारमा भर्ना गरिन्छ ।’
मेयर यादवले आफ्ना सालोका दूवैजना छोरालाई नगरपालिकामा व्यवस्थापन गरेको छ । एकजनालाई करारमा नियुक्ति दिएको छ भने अर्का छोरा सन्तोष यादवलाई नगरपालिकाबाट हुने विकास निर्माण कामको ठेकेदार बनाएको छ । संतोषले कृष्णा कन्सट्रक्सनबाट काम गर्ने गरेको नगरपालिकाका एक कर्मचारीले बताएको छ।
उनका अनुसार कोटेशनमार्फत स्थानीय तहमा एक आर्थिक वर्षमा एउटा फर्म वा संस्थाले मात्रै १० लाखसम्म काम गर्ने प्रावधान छ । तर उनले पहुँचको अन्य विभिन्न फर्ममार्फत कैयौं योजनाहरू संचालन गरिरहेको नगरपालिकाका एक प्राविधिक कर्मचारी बताउँछन्।
नगरपालिकामा जम्मा ९ वटा वडा छ । मेयर यादवको घर एक नम्बर वडामा पर्छ । जनसङ्ख्याका आधारमा त्यो वडा नै सबैभन्दा ठूलो वडा हो । मेयर यादवको गृह वडा भएका कारण सबैभन्दा बढी बजेट पनि सोही वडामा जाने गरेको गरेको छ । र, ती वडामा हुने प्रायः सबै विकास निमार्णको ठेक्का मेयर यादवले आफ्नै सालोका छोरा सन्तोषलाई दिँदै आएका छन् ।






