कार्यकक्षमा “अट्याच्ड टॉयलेट” नभएको भन्दै उपमेयर असन्तुष्ट

जनकपुरधाम । आफ्नो कार्यकक्षमा “अट्याच्ड टॉयलेट” नभएको भन्दै धनुषाको शहिदनगर नगरपालिकाकी उप-प्रमुख सुनिता सिंहले असन्तुष्टि व्यक्त गरेकी छिन् । बुधवार नगरपालिकाको १४ नगरसभाको हिउँदे अधिवेशनमा उनले आफ्नो कार्यकक्षमा “अट्याच्ड टॉयलेट” नभएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

हिउँदे अधिवेशनमा उनले आफ्नो धारणा राख्दै भनिन्,’नगरपालिकाको नयाँ भवनमा सबै पुरुष कर्मचारी र नगर प्रमुखको कार्यकक्षमा “अट्याच्ड बाथरुम टॉयलेट” छ । तर, म बस्ने कोठामा न “टॉयलेट” छ, न टेबुल छ । महिला भएकै कारण मलाई विभेद गरिएको छ ।’

‘जो कोही आउनेले टेबुल कहाँ छ भनेर सोध्ने गर्छन् । मैले अहिले फर्निचरमा बनिरहेको जवाफ दिने गर्छु’,उनले भनिन्, ‘मेरो कोठामा टेबुल कुर्सी नभए केही फरक पर्दैन । म महिला छु,भुइँमै बसेर काम गर्न सक्छु । बरु कुनै कोठामा अपुग छ भने मेरो कोठामा भएको टेबुल लग्दा हुन्छ ।’

केही दिनअघि मात्रै नगरपालिकाको कार्यालय नवनिर्मित नयाँ प्रशासनिक भवनमा सरेका छ । यसअघि भाडाको घरबाट नगरपालिकाले सेवा प्रवाह गर्दै आएको थियो ।

प्रतिक्रिया
    ट्याग: