नेपाली कला क्षेत्रमा लाग्ने आरोप : क्षेत्र नै गलत की व्यक्ति ?

काठमाडौं । समाज परिवर्तनको एउटा दरिलो खम्बा हो, कला क्षेत्र । कलाको माध्यमबाट समाजमा हुने गरेका विभिन्न खालका बेतिथिहरूलाई प्रस्तुत गर्ने गरिन्छ भने त्यसको प्रभावले समाजमा सकारात्मक परिवर्तनहरू पनि हुने गरेको देखिन्छ ।

हजारौं व्यक्तिको सपना कला क्षेत्रमा जाने अनि समाजका लागि उदाहरणीय काम गर्ने उदेश्य हुन्छ । तर, बेलाबेलामा नेपाली कला क्षेत्रमा लाग्ने गरेका आरोपहरूले भने बद्नाम गरेको देखिन्छ । यसले के कला क्षेत्रले सोचे जस्तो छाप छोड्न सकेको छ त भन्ने प्रश्नहरू उठ्ने गरेको छ ।

यतिबेला नेपाली कला क्षेत्रमा अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको विषयले चर्चा पाइरहेको छ भने विभिन्न सामाजीक सञ्जालमा पनि यीनैका विषयले स्थान पाइरहेका छन् ।

एक नाबालिग गायिकामाथि करणी सम्बन्धी कसुरमा उनीविरुद्ध जाहेरी दर्ता भएसँगै उनी विवादको केन्द्रमा परेका छन् । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता दिएका छन् ।

जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको उल्लेख गरिएको छ ।

फरार रहेका शाहलाई अहिले प्रहरीले खोजीरहेको छ भने प्रहरीले उनको नजिकका व्यक्तिहरूलाई सोधपुछ गरिरहेको छ । शाह दोषी हुन् वा होइनन् भन्ने विषय अब कानुन र अदालतले छुट्याउने छ । तर, पलको घटनालाई लिएर सामाजिक सञ्जालमा कला क्षेत्र र कलाकारलाई गाली गर्नेको ओइरो लागेको छ । केहीले भने पल शाहको बचाउ पनि गरेका छन् ।

पलको विषयलाई लिएर अहिले तातिएको सामाजिक सञ्जालमा कोहिले पीडितले न्याय पाउनुपर्छ भनीरहेका छन् भने कतिले पलमाथी षडयन्त्र भइरहेको बताएका छन् ।

कतिपयले व्यक्ति विशेष जोडिएको घटनालाई लिएर पूरै कला क्षेत्रलाई गाली गरेकोमा गुनासो गरेका छन् । यता नेपाली कला क्षेत्रकै केहि व्यक्तिहरुले यो घट्नाले कला क्षेत्रकै बदनाम भइरहेको बताइरहेका छन् भने एउटा व्यक्तिको घटनालाई लिएर पूरै कला क्षेत्रलाई नराम्रो भन्न नहुने बताइरहेका छन् ।

नेपाली कला क्षेत्रमा घटेको यो घटनाले समाजमा कस्तो प्रभाव पार्ला यो चिन्ताको विषय बनेको छ ।

कसले के भने :

शिव परियार, गायक

शिव परियार नेपालको चर्चित गायक हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशिले गद गद होला, एउटा पक्ष दुखाईले भत्तभति होला, तर समग्रमा भन्दा यो सारा कुराले चैं समाजको नजरमा हाम्रो संगीत उद्योग र चलचित्र उद्योग र तपाईं हामी समग्र कलाकार कै नाक काटिएको छ है । कलाहरूको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला सङ्गीतकलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुख लागेको छ ।’ ‘कलाकारिता’ भन्ने गहन अर्थ बोकेको विधालाई सँधै यो समाजले नाच्ने गाउने पेशा राम्रो हैन भनेर बुझेको थियो, यो बुझाईलाई यो घटनाले थप पुष्टि गरेको छ । खै के भनौं यस्तो सबै नभई दिएको भए हुने थियो ।’

दीपकराज गिरी, निर्माता/निर्देशक/कलाकार

दीपकराज गिरीले फेसबुक मार्फत नै घटना नखुलाई साङ्केतिक रूपमा प्रतिक्रिया दिएका छन् । पलले सामाजिक सञ्जालमार्फत आफूलाई फसाउन खोजिएको दाबी गर्दै त्यसका लागि रचिएका षडयन्त्र भनेर केही अडिओ पनि सार्वजनिक गरेपछि गिरीले लेखेका छन्, ‘रामले युद्ध जिते किनकि पछाडि बाँदर सेना नै भीषण थिए’,‘रावणले युद्ध हारे किनकि उनका पछाडि विभिषणहरू थिए ।’

करिश्मा मानन्धर, अभिनेत्री

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो कुनै सामाजिक सञ्जालमा भने त्यस्तो कुनै प्रतिक्रिया दिएकी छैनन् । तर पल शाहले हालेको पोस्टमा भने उनले भगवान तिम्रो साथमा छन् भनेकी छिन् । त्यस्तै उनले पल शाहको जीवनमा अहिले घटिरहेको घटना व्यक्तिगत भएको र फिल्म क्षेत्रसँग यसको कुनै प्रभाव नपर्ने बताउँदै आइरहेकी छिन् ।

यो घटनाले समाजमा कस्तो प्रभाव पार्ला ?

हुनत कला क्षेत्रमा कुनै व्यक्तिmको नाम कुनै व्यक्तिसँग जोडिनु कुनै नौलो होइन् । यस्ता गसिफहरु कला क्षेत्रको राम्रै मसलाहरु हुन् । तर, अहिले घटेको घट्नाले भने निकै तरङ्ग ल्याएको छ ।

कला क्षेत्रका कलाकारहरू कुनै व्यक्तिको पथप्रदर्शक हुन् सक्दछन् । त्यही कलाकारको नाममा यस्ता नकारात्मक कुराहरू आइरहँदा ती व्यक्तिहरूमा नराम्रो असर पर्न सक्दछ । त्यसैले एउटा सामाजिक भइसकेको व्यक्क्तिले हरेक कुरामा ध्यान पुर्याउन आवश्यक छ ।

त्योसँगै हरेक व्यक्क्तिको सपना कला क्षेत्र हुन् सक्दछ । कला क्षेत्रमा घटिरहेको यस्ता घट्नाले सपना देखेका व्यक्क्तिहरूको मनोबलमा असर पुर्याउन सक्दछ । समाज परिवर्तनको बलियो आधार रहेको कला क्षेत्रमा समाजलाई नै असर पुर्याउने खालको क्रियाकलाप भने हुनु हुँदैन ।

त्यतिमात्रै होइन, अभिभावकले पनि भोलिका दिनमा यो क्षेत्र नै गलत हो भनेर आफ्ना बालबालिका, छोराछोरीलाई यस क्षेत्रमा पठाउन मान्दैनन् । जसले गर्दा यसको विकास हुन चुनौती देखिन्छ ।

प्रतिक्रिया
सफलता भण्डारी