मधेशमा गुणस्तरीय शिक्षाको पर्याय बन्यो स्वस्तिक पाठशाला, एसईईमा प्रदेशमै सर्वोत्कृष्ट

सिरहा । सिरहाको मिर्चैयामा अवस्थित स्वस्तिक पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । गुणस्तरीय शिक्षाका लागि परिचित स्वस्तिकले अन्य वर्षका तुलनामा यसपालि झन उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
एसईईको नतिजाअनुसार सिरहामा कुल २६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन । जसमध्ये २० जना निजी विद्यालयका छन भने ६ जना सामुदायिक विद्यालयका छन । निजी विद्यालयका २० जनामध्ये स्वस्तिककै ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन ।
यस्तै, ३ दशमलव ९५ प्राप्त गर्ने विद्यार्थी ६ जना, ३ दशमलव ९१ प्राप्त गर्ने ५ जना, ३ दशमलव ९० प्राप्त गर्ने ३ जना र ३ दशमलव ९० देखि ३ दशमलव ५२ सम्म प्राप्त गर्ने २१ जना रहेकोे विद्यालयले जनाएको छ । स्वस्तिकबाट यसपालि एसईईमा कुल ४२ जना विद्यार्थी सहभागी भएका थिए ।
मधेश प्रदेश भरिमा स्वस्तिक पाठशालाका ७ जना विद्यार्थीले ४ जीपीए ल्याउँदा पर्सा जिल्लाका एक निजी विद्यालयका ६ जना, बाराका एक विद्यालयले ५ जना, धनुषा र महोत्तरीका ४(४ जना, रौतहट र सप्तरीका ३(३ जना र सर्लाहीका १ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन ।
यसरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरी भव्य सम्मान गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय सञ्चालक महेशप्रसाद कार्कीले विद्यार्थीहरूको लगनशीलता र शिक्षक कर्मचारीको समर्पणले यो परिणाम सम्भव भएको बताए ।
प्रधानाध्यापक लक्ष्मण गिरीले आगामी दिनमा अझ गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले विद्यार्थीहरूलाई अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे ।






