धनुष मन्दिरभित्र दारु होटलको प्रचार, भक्तजनले चढाएको लाखौं रुपैयाँ अध्यक्षले खाएको खुलासा

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुष मन्दिरभित्र दारु(मदिरा) समेत बेच्ने होटल तथा निजी विद्यालयको प्रचार सामग्री राखिएको पाइएको छ । त्रेतायुगमा भगवान रामले तोडेको ‘धनुष’ को टुक्रा खसेको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थलको रुपमा परिचित यस मन्दिरभित्र मदिरा व्यवसाय समेत सञ्चालन गर्ने होटल र विद्यालयको प्रचार सामग्री भेटिएको हो ।

यसलाई मन्दिरको गरिमा र धार्मिक महत्त्वमाथिको ठाडो चुनौतीको रुपमा दिएको स्थानीय एक व्यापारीको आरोप छ । व्यवस्थापन समितिको उदाशिनताले यस्तो हुनु निन्दनीय भएको ती व्यापारीले नाम नबताउने शर्तमा बताए ।

उनले उक्त बोर्ड हटाउनका लागि पटक–पटक विरोध गर्दा पनि कुनै सुनुवाइ नभएको बताए । व्यवस्थापन समितिका अध्यक्ष सुनिल यादवले पैसा असुल्दै उक्त प्रचार सामग्र्री राख्न दिएको उनले आरोप लगाए ।

मन्दिरमा दर्शनार्थीहरूले भेटी स्वरुप चढाएको पैसा पनि अध्यक्ष यादवले कोषको खातामा जम्मा नगरेको पाइएको छ । ती व्यापारीका अनुसार ५ लाखभन्दा बढी रकम अध्यक्षले राखेका छन् ।

व्यवस्थापन समितिका अध्यक्ष यादवले मन्दिरमा आएको हिसाब पनि सार्वजनिक नगरेको आरोप उनको छ ।

त्रेतायुगमा भगवान रामले सीता स्वयंवरमा भगवान शिवको पिनाक धनुषमा प्रत्याञ्च चढाउदा भाँचिएर तीन टुक्रा भएपछि एक अंश धनुषको धनुषाधाममा झरेको विश्वास रहिआएको छ ।

साख घटाउने गरी मन्दिरभित्र जनकपुरधामस्थित रहेको परफेक्ट प्लाजा होटल र मदर टेरेसा पब्लिक स्कुलको बोर्ड लगाइएको छ । उक्त बोर्डमा मन्दिरको केही इतिहास लेखेर प्रचार गर्ने प्रयोजनले राखिएको छ ।

मन्दिर केही अघिसम्म पुजारीले व्यवस्थापन गर्ने गरेका थिए । तर, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले थप व्यवस्थित बनाउने उद्देश्यले अहिले त्यहाँ व्यवस्थापन समिति नै गठन गरिसकेका छन् । तर, व्यवस्थापन समिति नहुँदा नै जोगिँदै आएको मन्दिरको साख अब समिति आएपछि अझ धरापमा परेका छन् । मन्दिरको व्यवस्थापन समितिकै उदाशिनताले यस्ता उक्त कार्य गरिएको एक स्थानीय बताउँछन् । उनीहरूकै कारण मन्दिर पछिल्लो दिनमा धारासायी बन्दै गएको मन्दिरको एक विश्वस्त स्रोतले बताए ।

नाम नखुलाउने शर्तमा स्रोतले भन्यो, “मन्दिर पुरै अस्तव्यस्त भएको छ । नगरपालिकाले मन्दिरको पुजाआजाको लागि लामो समयदेखि सामान्य खर्च पनि दिने गरेको छैन । जसले ऐतिहासिक मन्दिरको दुदर्शा हुँदै गएको छ ।”

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गनमा पनि प्रचार प्रसारमूलक सामग्री लगाउन युवाहरूले रोक लगाउँदै आएका छन् । त्यस्ता सामग्री लगाएको पाइएमा च्यातेर हटाइन्छ । तर, मन्दिरको गर्भ गृहभित्रै त्यसरी राखिएपछि पनि स्थानीय युवा तथा समाजसेवीहरू मौन छन् ।

“मन्दिर व्यवस्थापन समितिलाई प्रचार प्रसारमूलक बोर्ड राखेका व्यवसायीबाट कमिसन आउँदो हो कि ? नभए राखिएकै छ भने अरु प्रचारमूलक बोर्ड किन राखिएको छैन । धनुषाधामको एउटा पनि प्रचारमूलक बोर्ड राखिएको छैन । तर, जनकपुरधामबाट तीनीहरू धनुष मन्दिरको त्यो संवेदनशिल ठाउँ कसरी प्रयोग गरे त ? एक स्थानीयको प्रश्न छ ।

यता धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्यादेवी भुजेलले मन्दिर जस्तो ठाउँमा यस्तो राख्न नमिल्ने बताएकी छिन् । उनले भोलि मन्दिर गएर बुझ्ने र त्यस्तो पाइएमा हटाउने आश्वासन दिइन् ।

यस विषयमा नगर प्रमुख बालेश्वर मण्डल र व्यवस्थापन समितिका अध्यक्ष सुनिल यादवसँग सम्पर्क भने हुनक सकेन ।

त्यस्तै मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्षले दिपक मण्डलले पनि सो प्रचार सामग्रीको विषयमा थाहा नभएको बताए । उनले लामो समयदेखि हिसाब गर्न बाँकी रहेको स्वीकारेका छन् । “पटक–पटक हिसाब गर्न भनेका छौं तर अध्यक्षज्यूले गर्नुभएको छैन्” मण्डलले भने ।

कोषाध्यक्ष मण्डलका अनुसार अध्यक्ष यादवले घरमा विवाह भएको र त्यो सम्पन्न भएपछि हिसाब गर्ने भनेर जवाफ दिएका छन् । तर, मन्दिरको हिसाबबारे उनले यस्तै बहाना दि थालेको छ महिनाभन्दा बढी भइसकेको एकजना व्यापारीले नाम नखुलाउने शर्तमा भने ।

त्यस्तै अर्का व्यापारी पनि मन्दिरको समस्याबारे चिन्तित छन् । उनी भन्छन्, “त्यहाँ धेरै समस्या छ । जसले मन्दिरलाई अपमानित गरिरहेको छ । जसले मन्दीरको बेथितिलाई ठीक गर्नुपर्ने उनीहरूले नै झन् बिगारिरहेका छन् ।”

उनका अनसार मन्दिरमा सुधारका निम्ति जिम्मेवारी पाउने सबैले आर्थिक हिनामिना कसरी गर्ने त्यसमा मात्रै ध्यान दिने गरेका छन् । राम्रो कसरी गर्ने भन्नेमा कसैले ध्यान दिन सकेका छैनन् । “स्थानीयले केही बोल्यो भने उनैमाथि जाइलाग्छन्”, उनले भने, “व्यापार सङ्घको बैठकमा समेत एक पटक यो कुरा राखेको थिए । तर, केही भएन ।”

प्रतिक्रिया