वीरगन्जका मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश

वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्जका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत पर्साले मंगलबार उनलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकले मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मेयर सिंहलाई ४ लाख १५ हजार धरौटी माग गरेको जानकारी दिए । उनका अनुसार लिखत सम्बन्धी कसुरमा ४ लाख र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १५ हजार धरौटी माग आदेश गरिएको छ ।
लिखत सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको १२ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलीपल्ट मेयर सिंह अदालतमा पुगेका थिए । तर अदालतमा हाजिर नभई फरार भएपछि प्रहरीको विशेष टोलीले आज उनलाइ जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो ।
महानगर प्रमुख सिंहमाथि नक्कली बाबु बनेर झुटो विवरणका आधारमा एक किशोरीलाई नागरिकता दिलाएको आरोप छ । सन् २०७५ साउन १३ गते वीरगञ्ज महानगर वडा नं ३ बस्ने रुविना श्रेष्ठले लिएको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । उक्त नागरिकताको प्रतिलिपि २०७६ फागुन ८ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको थियो ।
नागरिकतामा आमाको नाम खुलाइएको छैन भने जन्ममिति २०५९ असार ३० गते उल्लेख छ । स्रोतका अनुसार मेयर सिंहको आधिकारिक परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एक छोरा अनिशमान सिंह मात्र छन् । राजनीतिक फाइदाका लागि अरूको सन्तानलाई आफ्नो छोरी भनी झुटो विवरण पेस गरेर नागरिकता दिलाएको आरोप उनीमाथि त्यतिबेलै लागेको थियो । उनले नागरिकता बनाइदिएकी ती किशोरी भने राहदानी बनाएर उच्च शिक्षाका लागि अस्ट्रेलिया पुगिसकेकी छन् ।
रुविनालाई नागरिकता दिलाउन तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले निमित्त वडाध्यक्षको हैसियतमा सिफारिस दिएका थिए । सो समयमा वडाध्यक्ष रहेका बैजुलाल स्वर्णकारले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको र मेयरले छोरी भनी सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरेका थिए । प्रशासन कार्यालयले भने प्रक्रिया पुगेकाले नागरिकता जारी भएको प्रतिक्रिया दिएको थियो ।
तर मेयरले यस पक्ररणमा थप गल्ती गरे । उनले आफूमाथिको कारबाही छल्न कानुनी दाउपेच सुरु गरे । सिंहविरुद्ध कारबाहीको माग गर्दै धेरै ठाउँमा उजुरी परेपछि कारबाहीबाट उम्किन मेयर सिंहले दोस्रो श्रीमतीको सहारा लिए । छानबिन टोलीसमक्ष दिएको बयानको मसी नसुक्दै दोस्रो श्रीमतीले सम्बन्ध विच्छेदको फिराद पत्र दिएपछि किर्ते प्रकरणमा नयाँ ट्विस्ट आएको थियो ।
जानकारहरूका अनुसार त्यस दाउपेचअन्तर्गत मेयर सिंहले सुरुमा आफ्नो दोस्रो बिहे रहेको स्विकारे, त्यसको भोलिपल्टै त्यही श्रीमतीबाटै फिराद पत्र दायर गराएका थिए । अर्थात् छानबिन टोलीसमक्ष दोस्रो बिहे स्विकारेको २४ घण्टा नबित्दै कान्छी श्रीमतीले अंश दिलाई सम्बन्ध विच्छेदसमेत गरी पाउँ भनी फिराद पत्र दिएकी थिइन् ।
जिल्ला अदालत पर्सामा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका निवासी महिलाबाट फिराद पत्र भएको थियो । उक्त फिराद पत्रमा आफूले विवाह दर्ताको प्रमाण पत्र नलिएको महिलाले उल्लेख गरेकी थिइन् । कानुनविद्हरुका अनुसार यही विवाह दर्ता नलिएको कारण कारबाही हुने भएपछि त्यसबाट बच्न प्रमाण खडा गर्नको लागि यो फिराद पत्र दिइएको थियो ।






