युक्रेनको सबैभन्दा ठूलो सहर खेरसनमाथि रुसको कब्जा, खारकिवमाथि आक्रमण जारी

काठमाडौं । युक्रेन–रुस युद्धको आज सात दिन पूरा भएको छ । रुसी सेनाले युक्रेनमाथि विभिन्न दिशाबाट आक्रमण गर्दै विभिन्न क्षेत्रमाथि आक्रमण गरिसकेको छ ।

बुधवार बिहान रुसी सेनाले खारकिव सहरमाथि आक्रमण गर्दा २१ जनाको मृत्यु भएको छ भने १ सय २१ जना घाइते भएका छन् । खारकिवलाई कब्जा गर्ने प्रयासमा रहेका रुसी सेनाले विद्यालय, सिटी काउन्सिल लगायतका क्षेत्रमा पनि मिसाइल आक्रमण गरेको छ भने युक्रेनको सबैभन्दा ठूलो सहर खेरसन नियन्त्रणमा लिएको छ ।

हालसम्म रुसको आक्रमणका कारण ६ लाख ५० हजारभन्दा बढी युक्रेनी नागरिकले देश छाडिसकेका छन् भने लाखौं नागरिक विभिन्न बङ्करमा लुकेका छन् । युद्धको सातौंदिन आजपनि दुई देशबीच वार्ता हुने तय भएको छ । तर, वार्ता कहाँसम्म पुग्नेछ भन्ने यकिन छैन ।

यसअघि सोमवार भएको वार्तामा सहमति भने हुन सकेको थिएन । तर, वार्ताको क्रममा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्किले तत्काल युद्धविरामका लागि रुससँग आग्रह गरेको थियो । युक्रेनको आग्रहमा रुसले कुनै सहमति जनाएन ।

यता, रुसका विदेशमन्त्री सर्गेई लाभरोफले विश्व समुदायलाई चेतावनी दिँदै तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । उनले युक्रेनलाई परमाणु हथियार प्राप्त गर्न नदिने भन्दै तेस्रो विश्वयुद्ध विनाशकारी र परमाणु युद्ध हुने चेतावनी पनि दिए । उनले रुस युक्रेनसँग कुराकानी गर्नका लागि तयार रहेको तर, युक्रेन अमेरिकाको ईशारामा चलिरहेको आरोप लगाएका छन् ।

यसैबीच, युक्रेनले युद्धको क्रममा ५ हजार ८ सय ४० जना रुसी सेनाको मृत्यु भएको दावी गरेको छ ।

युक्रेनलाई आक्रमण गर्ने रूसी कदमको विश्वव्यापी रुपमा विरोध भइरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् भने बेलायतले रुसलाई युक्रेनमाथि कब्जा गर्न कठिन हुने बताएको छ ।

यस्तै, रुस विरोधी नेता एलेक्सी नवेलनीले रुसको आक्रमणलाई क्रुरताको संज्ञा दिँदै सर्वसाधारणलाई सडकमा उत्रेर युक्रेनको समर्थन गर्न अपिल गरेका छन् । उलने पुटिन रुस नरहेको र उनको कदमको विरोध गर्न अपिल गर्नुभयो ।

यसैबीच, भारतले आफ्ना नागरिकलाई जुनसुकै अवस्थामा आजै खारकिव छाड्न एडभाइजरी जारी गरेको छ ।

प्रतिक्रिया
नागरिक मिरर