पल शाह प्रकरण : नेपाली सेलीब्रेटीहरू कसले के बोले ?

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्रमा अभिनेता पल शाह प्रकरणको चर्चाले चुलिएको छ । शाहलाई एक नाबालिग गायिकाले जबर्जस्ती करणीको आरोपमा उजुरी दिएकी छिन् ।

अहिले प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सुरुको समय उक्त
बिषयमा नबोलेका नेपाली सेलीब्रेटीहरू अहिले भने धमाधम मुख खोल्न थालेका छन् । अहिले कतिले पललाई सुहानुभुती दिइरहेका छन् भने कतिले उनीहरूले यस बिषयमा गम्भीर हुन, नारीको सम्मान गर्न भनिरहेका छन् ।

शाह प्रकरणमा नेपाली सेलिब्रिटी कसले के बोले ?

रेखा थापा

२० वर्षमुनिका छोरीहरू बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनिहरुलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ?कतिपटक यौन संपर्क भयो ?यस्ता नैतिकतावदी कुराको कानुनलाई मतलब हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरिसाध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।

ऋचा शर्मा

मुलुकी अपराध संहिताले भन्छ, ‘१८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो ।’ कानुनमा कसले,के,कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि,हैन र ?। १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो । यति बुझौँ नाबालिगकै करमा पनि कसैले यौन सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न ! मलाई विश्वास छ, नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण,कानुनको सम्मान हो ।

सञ्चिता लुइँटेल

पछिल्लो प्रकरणसँग जोडेर धेरै आपत्तिजनक भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु । जुन अत्यन्तै चिन्ताजनक कुरा हो । कानूनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको व्यक्तिगत इज्जत–प्रतिष्ठामा आँच आउने र चरित्र हत्या गर्ने किसिमका पोस्टहरु कृपया बन्द गरौं । खासगरी बालबालिकालाई यस्ता चिजबाट टाढा राखौं । यसमा नेपाल प्रहरीको समेत ध्यानाकर्षण गराउन चाहन्छु । दोषी र निर्दोष छुट्याउने काम कानून र अदालतको हो । त्यतिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन । सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ ।

श्रृङ्खला खतिवडा

‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’

मलाई अझै पनि विश्वास छैन कि मानिसहरुले एक नाबालिगको साटो ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेका छन् । त्यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा तपार्ईंले कल्पना गर्न सक्नुहुन्छ ? हो, उनी जताततै अन्तरवार्तामा पनि आएकी छिन् तर यी सबै के हुन् भन्ने कुरा बुझ्न उनी परिपक्व छैनन् । यो मुद्दामा म चेतनाको असाध्यै ठूलो कमी देख्छु । नाबालिगसँगको यौन सम्बन्धबारे किन कानुन बनाइएका छन् भनेर गुगलमा खोजी गर्नुहोस् । यदि कसैले पीडकलाई समर्थन गरिरहेको देख्नुहुन्छ भने उनीहरुलाई मेसेज गर्नुहोस्,कमेन्ट गर्नुहोस् । तपाईंहरूले जे सक्नुहुन्छ,त्यो गर्नुहुन्छ । तपाईंहरूले यो किन गलत हो भनेर बुझाउन सक्नुहुन्छ ।

म ती नाबालिगका लागि प्रार्थना गर्छु । यस्तो घृणा सहन असाध्यै नै गाह्रो हुन्छ । आत्मबल बलियो राख्नु । हामी तिम्रो साथमा छौँ,बहिनी । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो । यसमा कुनै यदि र तर लागु हुँदैनन् । पीडितलाई आरोप लगाउने गल्ती नगर्नुहोस् ।

लक्ष्मी बर्देवा

हामी यति त बुझ्न सक्छौँ नि–कानुन विपरित क्रियाकलाप गर्दा कानुनी सजाय भोग्नुपर्छ । मलाइ मनपर्ने मान्छे हो÷होइन । मेरो नजिक छ–छैनले यसलाई फरक पर्दैन र पर्नु पनि हुँदैन । प्रवृत्तिमाथिको आवाजलाई व्यक्तिगत बनाउनु आफैमा मुर्खता हो ।

रिमा विश्वकर्मा

विश्व प्रसिद्व फुटबल क्लब मेनचेस्टर युनाइटेडका राइजिङ स्टार म्यासन ग्रीनउड हाल आफ्नो १८ वर्ष मुनीको प्रेमीकासँग शारिरीक शोषणको कारणले गर्दा जेल परेपछि धरौटीमा रिहा भए । विश्वभरी अरबौ प्यान्स भएको युनाइटेडका अनुसन्धानको क्रममा रहेको हुनाले तुरुन्तै आफ्नो खेलाडीलाई  ससपेन्ड गरे भने उसको इस्पोन्सरहरूले तुरुन्तै उनीसँगको व्यापारीक सम्बन्ध तोडे त्यसैगरी एकजना प्यान पनि जस्टिक फर ग्रीनउड भनेर निस्केको देखिएन किनकी जे गर्छ कानुनले गर्छ भनेर सबैले कानुनको सम्मान गरे । यो शिक्षित र असल नागरिकको बास्तविक पहिचान भनेको यहि हो ।

प्रतिक्रिया
सफलता भण्डारी