महन्तका लागि मामा–भन्जाबीच शक्ति सङ्घर्ष सुरु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा नयाँ महन्त नियुक्तिका लागि गुठी संस्थानले प्रक्रिया अगाडि बढाएको छ । महन्त रामतपेश्वर दास वैष्णवको पाँच वर्षे नियुक्ति अवधि सकिएपछि संस्थानले पुनः महन्त नियुक्त गर्ने तयारी थालेको हो ।
महन्त दासको कार्यकाल समाप्त भएको लामो समय बितिसक्दा पनि उनले कार्यभार नछाडेपछि गुठी सञ्चालन ऐनअनुसार नयाँ महन्त नियुक्तिको प्रक्रिया अघि बढाइएको हो । करिब २० वर्षदेखि उनि जानकी मन्दिरका महन्तका रूपमा रहेका छन् । तर, यसपटक उनलाई विस्थापित गर्दै उत्तराधिकारी महन्त रामरोशन दास मुख्य महन्त बन्ने दौडमा सक्रिय देखिएका छन् ।
रामरोशन दासमाथि फर्जी उत्तराधिकारी परिचयपत्र बनाएको आरोप लागेपछि विवाद अदालतसम्म पुगेको थियो । केही महिनाअघि अदालतले उत्तराधिकारसम्बन्धी विवादमा फैसला गरेको थियो । अदालतको फैसला रामरोशनको पक्षमा आएपछि गुठी संस्थानले उनलाई अनुकूल हुने गरी नयाँ मुख्य महन्त नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
महन्त राम तपेश्वरको नियुक्ति अवधि सकिएको वर्षौं बितिसक्दा पनि संस्थानले त्यसतर्फ खास चासो दिएको थिएन । तर, रामरोशनको उत्तराधिकारसम्बन्धी विवाद समाधान भएको केही महिनामै नयाँ महन्त नियुक्तिको प्रक्रिया सुरु भएपछि उनकै पहलमा संस्थान सक्रिय भएको संकेत मिलेको छ ।
यसपटक रामरोशन महन्त रामतपेश्वरलाई हटाएर स्वयं मुख्य महन्त बन्ने प्रयासमा छन् । जसरी पनि नियुक्तिपत्र प्राप्त गर्ने उद्देश्यसहित उनी प्रतिस्पर्धामा उत्रिएका छन् । उनि निकट स्रोतका अनुसार उत्तराधिकार विवाद पहिल्यै समाधान भएको भए उनी यसअघि नै महन्त बनिसक्ने थिए । केही महिनाअघि मात्रै उक्त विवाद टुङ्गिएपछि उनी अहिले मुख्य लक्ष्यतर्फ केन्द्रित भएका छन् ।
महन्त रामतपेश्वरले आफू बिरामी भई उपचारका लागि बाहिर रहेका बेला किर्ते हस्ताक्षर गरी आफूलाई जानकी मन्दिरको उत्तराधिकारी महन्त घोषणा गरिएको आरोप लगाएपछि विवाद अदालत पुगेको थियो । तर, उनीमाथि लगाइएका आरोप पुष्टि नभएपछि अदालतले राम रोशनको पक्षमा फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि उत्साहित रामरोशन यसपटक मुख्य महन्त बन्ने तयारीमा छन् । आवश्यक समन्वय र पहलमार्फत महन्त राम तपेश्वरलाई हटाएर उनि गद्दीमा पुग्ने रणनीतिमा रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार राम रोशनले गुठी संस्थान शाखा कार्यालय, जनकपुरका प्रमुख किशोर कुमार झासँग प्रारम्भिक छलफल गरिसकेको स्रोतले बताएको छ ।
जनकपुर शाखाबाट सकारात्मक सङ्केत पाएपछि उनी गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौंमा समेत सक्रिय भएका छन् । गुरु–शिष्य परम्पराभन्दा गुठी संस्थान ऐनअनुसार महन्त नियुक्त गर्न सर्वोच्च अदालतले निर्देशन दिएपछि उनी संस्थानमा सक्रिय रूपमा दौडधुप गरिरहेका छन् ।
स्रोतका अनुसार गुठी संस्थान, जनकपुर शाखाका प्रमुखले पनि राम रोशनलाई महन्त बनाउन चाहेको चर्चा छ । तर, शाखा प्रमुख किशोर कुमार झाले आफूले कुनै व्यक्तिको नाम सिफारिस नगरेको बताएका छन् ।
उनले भने, “२०७० माघ १७ गते गुठी संस्थानले रामतपेश्वर दासलाई हटाएर जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेको थियो । त्यसविरुद्ध रामतपेश्वर सर्वोच्च अदालत जानुभएको थियो । सर्वोच्चले उहाँकै पक्षमा फैसला गरेपछि हालसम्म उहाँ नै महन्त हुनुहुन्छ ।”
झाले थपे, “२०८०–८१ मा सर्वोच्च अदालतले पुजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार महन्त नियुक्त गर्न आदेश दिएपछि सोहीअनुसार प्रक्रिया अघि बढाइएको हो । रामतपेश्वर दास पुनः महन्त बन्न निवेदन दिनुहुन्छ वा रामरोशन आउनुहुन्छ, त्यो उहाँहरूको विषय हो। हामी गुठी ऐनअनुसार प्रक्रिया मात्रै अघि बढाइरहेका छौं ।”
गुठी संस्थानले महन्त नियुक्तिको प्रक्रिया अघि बढाएपछि आफू पनि इच्छुक रहेको उत्तराधिकारी महन्त रामरोशनले बताएका छन् ।
उनले भने, “अहिलेका महन्तको उमेर ७५ वर्ष नाघिसकेको छ । उहाँ आफैं हिँड्न सक्नुहुन्न, उठाउन–बसाल्न दुई जना मानिस चाहिन्छ । तपाईंहरू पनि सहयोग गर्नुस्, हामीलाई अवसर दिनुस्, जानकी मन्दिर राम्रोसँग चलाएर देखाउँछु ।”
उनले थप भने, “बुढो महन्तबारे पनि समाचार लेख्नुस् । उहाँ जबरजस्ती लामो समयदेखि महन्त भएर बस्नुभएको छ । सरकारले जानकी मन्दिरमा हस्तक्षेप गरे सरकार तीन टुक्रा हुन्छ भनेर उहाँले बोलेको अडियो पनि सार्वजनिक गर्नुस् ।”
जानकी मन्दिरनिकट स्रोतका अनुसार रामरोशन अहिले मुख्य महन्त बन्ने अभियानमा छन् । त्यसका लागि उनले पहिले महन्त रामतपेश्वरलाई विश्वासमा लिने, नभए अन्य विकल्प अपनाएर पनि यसपटक मुख्य महन्त बन्ने प्रयास गरिरहेका छन् ।
स्रोतका अनुसार महन्त रामतपेश्वर सहमत नभएपछि गुठी संस्थानको केन्द्रीय कार्यालयका पदाधिकारीलाई आर्थिक प्रभावमा पारेर नियुक्ति लिने प्रयाससमेत भइरहेको चर्चा छ । मन्दिरमा आयोजना हुने विभिन्न कार्यक्रममा पनि रामरोशनको सक्रियता मुख्य महन्तभन्दा बढी देखिन थालेको बताइन्छ ।
रामरोशनको प्रभाव बढ्दै गएपछि महन्त रामतपेश्वरले आफूले कसैलाई उत्तराधिकारी महन्त नियुक्त नगरेको र रामरोशनले किर्ते हस्ताक्षर गरी आफूलाई उत्तराधिकारी घोषणा गरेको दाबी सार्वजनिक रूपमा गर्दै आएका थिए । त्यसपछि विवाद अदालत पुगेको थियो । अदालतले हस्ताक्षर किर्ते नभएको ठहर गरेपछि उत्तराधिकारसम्बन्धी विवाद साम्य भएको हो ।
महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दास नाताले मामा–भान्जा हुन् । उनीहरूबीच शक्ति र स्रोतको विषयलाई लिएर लामो समयदेखि आन्तरिक विवाद रहँदै आएको छ । विशेषगरी जानकी मन्दिरमा कुनै ठूलो कार्यक्रम हुँदा उक्त विवाद सार्वजनिक हुने गरेको छ ।
सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवका बेला उनीहरूबीचको विवाद सञ्चारमाध्यममार्फत बाहिर आएको थियो । त्यसबेला महन्त रामतपेश्वरले मन्दिरको जिम्मेवारी दिएका रामरोशनमाथि अपारदर्शितासहित विभिन्न आरोप लगाएका थिए । त्यसपछि मन्दिरभित्रको विवाद सार्वजनिक भएको थियो ।
महन्त दासले रामरोशनलाई ‘स्वघोषित उत्तराधिकारी महन्त’ भन्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि विवाद थप चर्किएको थियो । तर, केही दिनपछि उनले आवेगमा आएर त्यस्तो अभिव्यक्ति दिएको स्वीकार गरेका थिए ।
यसअघि गुठी संस्थानले रामतपेश्वर दासले गुठीको जग्गा अतिक्रमण गरेको र नियुक्तिको सर्तअनुसार आय–व्यय विवरण नबुझाएको आरोप लगाउँदै उनलाई हटाएर जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरेको थियो ।
जगदीश दास वैष्णवलाई महन्त नियुक्त गरिएपछि जानकी मन्दिरमा महन्त गुरु–शिष्य परम्पराबाट नियुक्त हुनुपर्ने माग गर्दै रामतपेश्वर पक्षधर आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका क्रममा गुठी संस्थान, जनकपुर शाखामा तालाबन्दीसमेत गरिएको थियो ।
त्यसै क्रममा तत्कालीन गुठी प्रमुख दीपक पाण्डेलाई कालोमोसो दलेको अभियोगमा जिल्ला अदालतले रामतपेश्वर दासलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।






