धार्मिक अनुशासन उल्लङ्घन गरेको भन्दै महन्तले गरे दुई शिष्य वहिष्कार

जनकपुरधाम । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले शिष्यद्वय रामरोशन दास र मनोज दासमाथि धर्म विपरित काम गरेको आरोप लगाउँदै मन्दिरबाट वहिष्कार गरेका छन् । बुधवार महन्त दासले एक भिडियो सन्देश जारी गर्दै उनहरूलाई पूजा–पाठबाट वहिष्कार गरिएको जानकारी गराएका छन् ।

‘एक वर्षअघि मेरो शिष्य रहेका मनोज दास वैष्णव समाजको निति त्याग गरी कबिर धर्म अपनाएकाले उनलाई वहिष्कार गरिएको हो । अर्का शिष्य रामरोशनले आफू महन्तको शिष्य नभएर न्यायाधीशको शिष्य रहेको बताउने गरेका छन् । जुन जानकी मन्दिरको मर्म विपरीत कार्य हो । त्यसकारण आज गुरु पुर्णीमाको दिनदेखि दुवैजनालाई वहिष्कार गरिएको नागरिक समाजमा जानकारी गराउँदछु,’ उनले भिडियोमा भनेका छन् ।

महन्त दासले रामरोशनलाई न्यायाधीशले कुन धर्म र कुन मन्त्र दिएका हुन् त्यो न्यायाधीशले नै जानुन भन्दै मन्दिरको धर्म र आश्रमको मर्म विपरीत काम गरेका कारण दुवैजालाई पूजापाठबाट अलग गरिएको बताए ।

गुठी संस्थानले जानकी मन्दिरमा महन्त नियुक्तिका लागि प्रक्रिया आगाडी बढाएपछि महन्त दास र शिष्य रामरोशनबीच टकराव सुरु भएको छ । उत्तराधिकारी महन्त रहेका रामरोशन यसपटक महन्त दासलाई विस्थापित गरेर आफू नै मुख्य महन्त बन्ने दाउमा लागेका छन् । तर, महन्त दासले आफूले पद नछाड्ने अडान लिएपछि उनीहरूबीच विवाद सुरु भएको हो ।

उत्तराधिकारी सम्बन्धी विवादमा अदालतबाट सफाइ पाएपछि रामरोशन मुख्य महन्तको दौडमा छन् । रामरोशनले अदालबाट सफाइ पाएपछि उनकै जोडबलमा गुठी संस्थानले महन्त नियुक्तिको लागि प्रक्रिया सुरु गरेको बुझिएको छ । सर्वोच्च अदालतले गुरु–शिष्य परम्पराबाट नभइ ‘पुजारीलागयत जनशक्ति व्यस्थापन निर्देशिका २०७७’ अनुसार महन्त नियुक्ति गर्न आदेश गरेपछि संस्थानले महन्त नियुक्त गर्न लागेको हो ।

प्रतिक्रिया