गुठी संस्थानप्रति आक्राेशित महन्तले भनेः कुकुरको जस्तो दसा गर्ने काम गर्छ, उत्तराधिकारी महन्त बनाउँदिन

जनकपुरधाम । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले गुठी संस्थानले राजगुठीका महन्तलाई कुकुरको जस्तो दसा गर्ने गरेको आरोप लगाएका छन् । बुधवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गुठी संस्थानप्रति आक्रोश पोख्दै सो आरोप लगाएका हुन् ।

संस्थानले नियुक्त गरेको उत्तराधिकारी महन्तको कार्यकाल पाँच वर्षको हुने र कसैलाई उत्तराधिकारी महन्त बनाए उसको जिन्दगी बर्वाद मात्रै हुने उनको भनाइ छ ।

उनले भने, ‘जानकी मन्दिरलाई छुट गुठीबाट राजगुठीमा परिणत गरिएको छ । यहाँ कसैलाई उत्तराधिकारी महन्त किन बनाउने ? पाँच वर्षका लागि महन्त बन्नु भन्दा कुनै कार्यलयको पियून बन्नु राम्रो हो, त्यहाँ उसले ३० वर्षसम्म जागिर खान्न पाउँछ ।’

गुठी संस्थानले कसैलाई पाँच वर्षको नोकर बनाउन नहुने उनको तर्क छ । त्यसैले आफूले कसैलाई जानकी मन्दिरका उत्तराधिकारी महन्त नबनाउने उनले बताए । यद्दपी महन्त दासले आफ्नै भन्जा रामरोशन दासलाई उत्तराधिकारी महन्त बनाएका छन् ।

२०७८ वैशाख १५ गते गुठी संस्थानले रामरोशनलाई उत्तराधिकारी महन्तमा नियुक्त गरेको थियो । गुठी संस्थान ऐन, २०३३ को दफा १६ को उपदफा २ का अनुसार उनको पाँच वर्ष अवधि समाप्त भइसकेको छ ।

गुठी संस्थान कार्यलय जनकपुरले महन्त पूजारी लगायत अन्य जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ बमोजिम जानकी मन्दिरमा महन्त नियुक्त गर्नका लागि केन्द्रिय कार्यलयमा पत्र पठाइसकेको छ ।

यसअघि गुरु–शिष्य पराम्परा अनुसार महन्त नियुक्त हुँदै आएको थियो । तर, सर्वोच्च अदालतले अब निर्देशिका बमोजिम महन्त नियुक्त गर्न आदेश गरेपछि संस्थानले प्रक्रिया आगाडी बढाएको बताएको छ ।

मुख्य महन्तका लागि यसअघि उत्तराधिकारी महन्त रहेका रामरोशनले भने मुख्य महन्त बन्न कसरत सुरु गरिसकेका छन् । अहिलेका महन्त रामतपेश्वर दास शारीरिक रुपमा कमजोर भइसकेको भन्दै उनी आफैं महन्तका लागि अघि बढेका हुन् ।

प्रतिक्रिया