३ करोड २५ लाखको लागतमा रौजा बजारमा आधुनिक बजार पूर्वाधार निर्माण हुँदै

महोत्तरी । बलवा नगरपालिका वडा नं. ९ र ११ को संयुक्त अधिकार क्षेत्रभित्र पर्ने रौजा बजार व्यवस्थापन आयोजनाको शिलान्यास बुधबार एक समारोहबीच सम्पन्न भएको छ।

बुधबार आयोजित कार्यक्रममा बलवा नगरपालिकाका नगर प्रमुख राम विजय महतो, वडा नं. ९ का वडा अध्यक्ष श्री सनिउल्ला शेष तथा वडा नं. ११ का वडा अध्यक्ष श्री अशोक यादवले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेको हो।

शिलान्यास कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, युवा, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

करिब ३ करोड २५ लाख लागतमा निर्माण हुने यस आयोजनाअन्तर्गत दुई वटा पक्की व्यापारिक भवन, दुई वटा बजार सेड, वर्षाको पानी निकासका लागि नाला निर्माण, पक्की सडक, पदमार्गमा कङ्क्रिट ब्लक बिछ्याउने कार्य तथा सार्वजनिक शौचालय निर्माण लगायतका आधुनिक पूर्वाधार विकासका कामहरू सम्पन्न गरिनेछन्।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख महतोले रौजा बजारलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक बजारका रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना अघि बढाइएको बताए। उनले आयोजनाको निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै व्यापार–व्यवसाय विस्तार, स्थानीय आर्थिक गतिविधिमा वृद्धि, नागरिकलाई सहज तथा गुणस्तरीय सेवा प्रवाह तथा नगरपालिकाको आन्तरिक राजस्व वृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले पनि आयोजना निर्धारित समयमै सम्पन्न भई सञ्चालनमा आएपछि बजार व्यवस्थापन थप प्रभावकारी हुने, व्यापारिक गतिविधि विस्तार हुने तथा समग्र क्षेत्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्।

रौजा बजार व्यवस्थापन आयोजना बलवा नगरपालिकाको दीर्घकालीन पूर्वाधार विकास योजनाअन्तर्गत सञ्चालनमा आएको महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ। आयोजना सम्पन्न भएपछि स्थानीय बजारलाई आधुनिक र व्यवस्थित बनाउँदै यस क्षेत्रको आर्थिक गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया