क्षिरेश्वरनाथ नगरबासीका लागि खुशीको खबर : ५० युनिटसम्मको विद्युत् महसुल पालिकाले नै तिरिदिने, निवेदन संकलन गर्दै

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाग नगरपालिकाले आफ्ना नगरबासीको विद्युत महसुल तिरिदिने भएको छ। नगरपालिकाबाटै नगरबासीको ५० युनिटसम्मको महसुल नगरपालिकाले तिरिदिने नगर प्रमुख सुखदेव यादवले बताएका छन्। उनका अनुसार सो का लागि नगरसभाबाट करिब अढाई करोड विनियोजन गरिएको छ।

नगरवासीलाई घरायसी प्रयोजनमा खपत हुने ५० युनिटसम्मको विद्युत् महसुलमा छुट/सहुलियत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। त्यसका लागि नगरबासीको तथ्यांक संकलनको कार्य मंगलबारबाट सुरु भएको नगरपालिकका प्रशासकीय अधिकृत अजयकुमार यादवले जानकारी दिएको छ। उनले सोमबार सूचना जारी गरेर नगरपालिकाको स्वीकृत नीति, कार्यक्रम तथा बजेटअनुसार उक्त सुविधा उपलब्ध गराउन योग्य नगरवासीबाट आवेदन आह्वान गरिएको हो।

नगरपालिकाको सूचनामा क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्ने तथा घरायसी प्रयोजनका लागि विद्युत् सेवा प्रयोग गरिरहेका योग्य नगरवासीले तोकिएको मापदण्ड र प्रक्रियाअनुसार आवेदन दिन सक्नेछन्। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोबास प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो विद्युत् महसुल बिलको प्रतिलिपि तथा विद्युत् ग्राहक नम्बर÷मिटर नम्बर स्पष्ट खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ। आवश्यकताअनुसार नगरपालिकाले थप प्रमाण तथा कागजातसमेत माग गर्न सक्नेछ, प्रशासकीय अधिकृत यादवले जनाए ।

एक विद्युत् ग्राहक नम्बर÷मिटरका लागि एक मात्र आवेदन स्वीकार गर्ने नगरपालिकाले जनाएको छ। विद्युत् सेवा घरायसी प्रयोजनका लागि प्रयोग भएको हुनुपर्नेछ भने आवेदनमा उल्लेख गरिएको नाम, नागरिकता नम्बर, ग्राहक नम्बर, मिटर नम्बरलगायतका विवरण सम्बन्धित कागजातसँग मेल खानुपर्ने बताइएको छ।

आवेदन संकलनका लागि नगरपालिकाले वडा अनुसार छुट्टाछुट्टै समय तालिका सार्वजनिक गरेको छ। वडा नं. १ मा भदौ १७ गते, वडा नं. २ मा भदौ १८ गते, वडा नं. ३ मा भदौ २२ गते, वडा नं. ४ मा भदौ २३ गते, वडा नं. ५ मा भदौ २४ गते, वडा नं. ६ मा भदौ २५ गते, वडा नं. ७ मा भदौ २६ गते, वडा नं. ८ मा असोज २ गते, वडा नं. ९ मा असोज ५ गते र वडा नं. १० मा असोज ६ गते आवेदन संकलन गरिनेछ। सबै वडामा आवेदन संकलनको समय बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म तोकिएको नगरपालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख छ।

नगरपालिकाका उक्त सूचना अनुसार आवश्यक प्रमाण तथा कागजात नपुगेका वा निर्धारित मापदण्ड पूरा नगरेका आवेदन अस्वीकृत गर्न सकिनेछ। आवेदनको छानबिन तथा प्रमाणीकरणपछि स्वीकृत मापदण्ड र उपलब्ध बजेटको सीमाभित्र रही सम्बन्धित विद्युत् महसुलमा छुट/सहुलियत उपलब्ध गराइनेछ।

यस्तै आवेदनमा गलत विवरण वा झुट्टा कागजात पेश गरी सुविधा लिन खोजेको पाइएमा आवेदन रद्द गर्नुका साथै प्रचलित कानूनबमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया