जनकपुरधाम-पोखरा हवाई उडान भोलिदेखि सुरु हुने


जनकपुरधाम । धार्मिक नगरी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान भोलिदेखि सुरु हुँदैछ ।
नागरिक उड्डयन कार्यालय जनकपुरधामले १७ फागुनमा महाशिवरात्रिदेखि सिधा हवाइ उडान हुने भनिए पनि केही प्राविधिक कारणले हुन नसकेको जनाएको छ ।
जनकपुरधाम विमानस्थलका प्रबन्धक योगेन्द्रनाथ कुँवरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ गत बुधबारदेखि नै सुरु गरिएपनि नियमित उडान भने फागुन २१ गते शनिबारदेखि हुने जानकारी दिए ।
सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले बताए ।
अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान हुने उनले जानकारी दिए । उनले सो यात्राको लागि भाडादर ४ हजार १ सयदेखि ९ हजार ३ सय ६० सम्म रहेको बताए ।
जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाइ यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
केही महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाइ उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।