१५ दिने मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो, भोलि अन्तरगृह परिक्रमा

जनकपुरधाम । मिथिलाको प्रसिद्ध १५ दिने माध्यामिकी परिक्रमा जनकपुर आइपुगेको छ । फाल्गुन औंसीका दिनदेखि विधिवत रुपमा सुरु भएको परिक्रमा बिहीबार चतुर्थीका दिन जनकपुर आइपुगेको हो । परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरूले बिहीवार राति जनकपुरमा विश्राम गरेर भोलि बिहान पूजापाठ गरेपश्चात अन्तगृह परिक्रमा गर्नेछन् । अनि पर्सि मात्रै होली पर्व मनाइनेछ ।

अन्तगृह परिक्रमामा जनकपुरधामको परिक्रमा गरिन्छ र जसलाई पञ्चकोसी परिक्रमा पनि भनिन्छ । अन्तगृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरूरुले समेत भाग लिने गर्दछन् ।

मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत्त, मध्यमा एवं लब्धी गरी तीन प्रकारको परिक्रमा हुन्छ । जसमध्ये मध्यमा अर्थात् मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ । फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको छ ।

प्राचिन समयमा सियालाल जी शरण नाम गरेका सन्तले शुरु गर्नु भएको मध्यमा परिक्रमा गरेपछि मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ प्राचिन समयमा सियालाल जी महाराजले परिक्रमाको शुरुवात गरेका थिए ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।

परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गरिन्छ । यस परिक्रमामा लाखौंको सङ्ख्यामा यात्रीहरूको सहभागिता रहने गर्छ ।

प्रतिक्रिया
अमरेन्द्रकुमार यादव