श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टकका बीच मन्त्रीपरिषदमा रहेका सबै मन्त्रीको राजीनामा
एजेन्सी । श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टककाबीच मन्त्रीपरिषदमा रहेका सबै मन्त्रीले राजीनामा दिएका छन् ।
आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन बढ्दै गएको बेला सरकारमा रहेका २६ जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा प्रधानमन्त्री महिन्द्रा राजापाक्षेका छोरा नामल राजपाक्षे पनि रहेका छन् ।
तर, प्रधानमन्त्री महिन्द्रा राजपाक्षे र उनका भाई राष्ट्रपति गोतबाया राजपाक्षेले राजीनामा दिएका छैनन् ।
शिक्षामन्त्री दिनेश गुणवर्देनाले मन्त्रीपरिषद्का सदस्यहरूले प्रधानमन्त्रीलाई आइतवार अबेर साँझ राजीनामा बुझाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।
सन् १९४८ यताकै गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा इन्धन, खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्रीको अभाव छ । आर्थिक सङ्कट समाधानका लागि भन्दै सरकारविरुद्ध प्रदर्शन पनि जारी छ । सरकारले भने प्रदर्शन रोक्नका लागि राष्ट्रिय आपतकालको घोषणा गरेको छ ।