जीतपुर सिमरा उपमहानगरमा काँग्रेस एक्लै चुनाव लड्ने

कलैया । आसन्न स्थानीय तहको निर्वानमा नेपाली कांग्रेस उपमहानगर कमिटीले जीतपुर सिमरा उपमहानगरमा एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेस चुनाव लड्न एक्लै सक्षम रहेको भन्दै स्थानीय तहको निर्वाचनमा कुनै दलसंग साँठगाँठ नगर्ने निर्णय भएको नेपाली कांग्रेस बारा क्षेत्र नं.४(कं)का सभापति सुमन भट्टराई र जीतपुरसिमरा उपमहानगर सभापति छबिलाल शर्माले संयुक्त रुपमा आफ्नो फेसबुकको माध्यमबाट एउटा भिडियो अपलोड गरी जानकारी दिएका छन् ।

सत्ता गठबन्धनका शीर्षस्थ नेताहरु महानगरपालिका र उपमहानगरपालिकामा संयुक्त रुपमा चुनाव लड्ने बताइ रहेका बेलामा सत्ता गठबन्धनको भाग बण्डालाई झनै तनावपूर्ण बनाएको छ । नेपाली कांग्रेसको क्षेत्र नं.४(क) र उपमहानगर कमिटीले हतारमा गरेको यस्तो निर्णयले नेकपा एमालेलाई आउँदैँ गरेको स्थानीय तहको निर्वाचनमा ठूलो मलजल पुग्ने विश्वास लिइएको छ ।

नेपाली कांग्रेसको तर्फबाट जीतपुरसिमरामा नगर प्रमुख(मेयर) र उपप्रमुख ( उपमेयर)को आकांक्षी बढी देखिएपछि आफ्नो पद खुस्कने हो की भन्ने डरले यस्तो निर्णय भएको कतिपयको बुझाइ छ ।

जीतपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसकै कोटामा मेयर र उपमेयरको सिट पर्ने करिब करिब पक्का पक्की जस्तै छ ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर सहित पाँच वटा वडा अध्यक्ष पद नेकपा एमालेले जितेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले १० वटा वडा अध्यक्ष पद जितेको थियो भने नेपाली कांग्रेसले मात्र पाँच वटा वडा अध्यक्ष पदमा जित्न सफल भएको थियो । यता लोकतान्त्रिक समाजवादी पार्टीले भने दुई वटा वार्ड अध्यक्ष जितेको थियो । यो समाचार आजको जनकपुर टुडेमा छ ।

प्रतिक्रिया
नागरिक मिरर