नेपालमा दिनकै ३ वटा बलात्कारका घटना, न्याय निरुपण गर्ने निकायको कमजोर प्रस्तुति

काठमाडौं । नेपालमा दैनिक ३ वटासम्म बलात्कारका घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । यो तथ्याङ्क धेरै पुरानो होइन । यही चैत ९ गते एकैदिन ३ वटा बलात्कारका घटना भयो । यो ताजा तथ्याङ्क मात्रै होइन नेपालमा दैनिक औसतमा २ देखि ३ वटा बलात्कारका घटनाहरू हुने गरेको छ ।

चैत ९ मा भएका घटनामध्ये एक थियो, बझाङको । ५ सय रुपैयाँ दिन्छु भन्दै १२ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परे । अर्को घटना थियो काभ्रेको । १७ वर्षीया युवती ३३ वर्षीय पुरुषबाट अपहरणपछि बलात्कृत भइन् भने र अर्को थियो रौतहटको फतुवाविजयपुर नगरपालिका २ शीतलपुरका २२ वर्षीया महिला, जो आफ्नो खेतमा काम गर्ने बेलामा २१ वर्षीय पुरुषबाट बलात्कृत भइन् ।

यो घटना बाहिर आउनु केही दिन अगाडि मात्रै मोरङको लेटाङ्गमा शिक्षकले आफैले पढाउने विधार्थीमाथि बलात्कार गर्न खोजेको भन्दै प्रदर्शन गरिएको थियो । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरी र स्थानीयबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु नै भयो ।

यी घटनाहरू पछिल्लो समय चर्चामा रहेका मात्र हुन् । यस्ता घटनाहरू नेपाली समाजमा कति घट्छन् भन्ने कुरा अनुमान समेत लगाउन कठिन छ ।

उसो त बलात्कार पछि हत्या गरेको भनिएकी कञ्चनपुकी १३ वर्षीया निर्मला पन्तको हत्यारा अझैसम्म पत्ता लाग्न सकेको छैन् । वि।सं। २०७५ साउन १० गते घरबाट साथीको घरमा जान्छु भनेर हिँडेकी निर्मलाको साउन ११ गते घर नजिकैको उखु बारीमा शव फेला परेको थियो ।

उनको न्यायको लागि सारा देश उर्लियो । घटनाको प्रमाणहरू नष्ट गर्न प्रहरी लागि परेको भन्दै कति प्रहरी निलम्बित भए । ३ देखि ४ वटासम्म छानबिन समिति गठन भयो । तर, अहिलेसम्म हत्यारा भने पत्ता लाग्न सकेको छैन् ।

त्यस्तै बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीय सम्झना विकको बलात्कार पछि हत्या भएको घटनाले पनि राम्रै चर्चा पायो ।

यसरी बलात्कार हुनु र हत्यारा पत्ता लाग्न नसक्नुले नेपाली समाजमा छोरीहरू अझैपनि असुुरक्षित रहेको देखिन्छ । नेपालमा दैनिक रुपमा बलात्कारका घटनाहरू बाहिर आएपनि सोचेजस्तो घटनाहरूको कारबाही प्रक्रिया अघि नबढेको अधिकारकर्मीहरूको ठम्याई छ । नेपाली समाज दिनप्रतिदिन परिवर्तन हुँदै जानुले बलात्कारका घटनाहरू पनि बाहिर आउन थालेको उनीहरू बताउँछन् ।

यस अवस्थामा बलात्कारका घटनाहरू बढ्दै जानुले नेपाली समाज अब कतातिर जाँदै छ भन्ने विषय चिन्ताको विषय बनेको छ ।

५ वर्षसम्मको बलात्कारको तथ्याङ्क यस्तो छ :

नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने वार्षिक रुपमा बलात्कारका घटनाहरू बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ५३ जना महिलाहरू बलात्कृत भएका छन् । त्यसमध्ये १ हजार १ सय ५३ जना परिचित व्यक्तिहरूबाट नै बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा २ हजार ५ सय ७० जना महिलाहरू बलात्कृत भएका छन् । त्यसमध्ये १ हजार ८ सय ७० जना परिचित व्यक्तिहरूबाट नै बलात्कृत भएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा २ हजार ४ सय ४९ जना महिलाहरु बलात्कृत भएका छन् । त्यसमध्ये १ हजार ७ सय ७१ जना परिचित व्यक्तिहरूबाट नै बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २ हजार ८ सय १५ महिलाहरू बलात्कृत भएका छन् । त्यसमध्ये १ हजार ९ सय ९९जना परिचित व्यक्तिहरूबाट नै बलात्कृत भएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को अहिलेसम्म १ हजार ४ सय ५७ जना महिलाहरू बलात्कृत भएका छन् । त्यसमध्ये १ हजार ७२ जना परिचित व्यक्तिहरूबाट नै बलात्कृत भएका छन् ।

यो तथ्याङ्कलाई नै आधार मान्ने हो भने महिलाहरू परिचित व्यक्तिहरूबाट नै असुरक्षित रहेको देखिन्छ । यसरी परिचित व्यक्तिहरूबाट नै महिलाहरू बलात्कृत हुनुले नेपाली समाजमा अविश्वासको खाडल बनाउने निश्चित छ ।

किन हुन्छ चिनजानको व्यक्तिबाट बलात्कार ?

महिला अधिकारकर्मी लीली थापाका अनुसार चिनजानका व्यक्तिलाई सजिलै विश्वास गर्ने र अरुले आशङ्का पनि नगर्ने हुँदा चिनजानका व्यक्तिबाट बलात्कार हुने गरेको छ।

पछिल्लो समय आफन्तहरूबाट नै बलात्कारका घटनाहरू धेरै हुनुको कारण पनि त्यही रहेको उनी बताउँछिन् ।

थापाका अनुसार चिनजानको व्यक्तिबाट बलात्कार हुनुको प्रमुख कारणहरूमा विश्व भरीको कुरा एकैठाउँमा बसेर हेर्न मिल्ने अवस्था सिर्जना भइरहँदा त्यसको नियन्त्रण हुन नसक्नु,शारीरिक सम्बन्धलाई मनोरञ्जनका रुपमा लिनु र परिवारमा एकले अर्को व्यक्तिलाई ध्यान नदिनु आदि हुन् ।

नेपालको २५ वर्ष अगाडि देखिको तथ्याङ्क हेर्ने हो भनेपनि आफन्तहरूबाट धेरै बलात्कार हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया