अबेर रातिसम्म बसेर भएपनि मनोनयन दर्ता गर्छौ : निर्वाचन आयोग

काठमाडौं। सोमबार साँझ पाँच बज्दा पनि उम्मेदवारी दिन आउनेको क्रम जारी नै रहेको भन्दै आयोगले तोकिएको समयअवधि पछि पनि दर्ता गरिने जनाएको छ।

पहिलो दिन आइतबार १३ हजार ३८६ जनाको उम्मेदवारी परेको थियो। सोमबार नियमित पत्रकार भेटघाटको क्रममा बोल्दै सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले पहिलो दिन अपेक्षित उम्मेदवारी नपरेको बताए।

‘एक दिनको कार्यचापलाई मध्यनजर राखेर विगतमा २०७४ सालमा महानगरहरूमा अत्याधिक उम्मेदवारी भएको चेकजाँचका लागि समय अभाव भएको र रातभरि र भोलिपल्ट सम्म पनि रुजु गर्नुपर्ने देखिएको हुँदा यसपालि दुई दिनको समय दिएको हो,’ उनले भने, ‘यसपालि पहिलो दिन सोचेजति उम्मेदवारी परेन। त्यो हिसाबले अरू विकल्प छैन।’

आयोगको निर्वाचन तालिकाअनुसार आजै मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने थियो। तर उम्मेदवारी आउने क्रम जारी नै रहेको हुँदा त्यो कतिबेला हुन्छ भन्ने टुंगो छैन। ‘ठूला महानगरहरूमा धेरै उम्मेदवार पर्ने ट्रेन्ड नै छ। अबेर रातिसम्म बसेर भएपनि प्रक्रिया टुंग्याउँछौं,’ पौडेलले भने। सोमबार अपरान्ह ४ बजेसम्म ३७ हजार ५ सय ८५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। अझै केही ठाउँमा उम्मेदवारी दर्ता गर्नेको लाइन जारी छ।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: