पर्यटन प्रवद्वनका लागि नेपाल पर्यटन बोर्ड र एफएनसीसीआई बीच सहकार्य हुने

काठमाडौं । मुलुकको पर्यटन प्रवद्वनम सहकार्य गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार महासंघको सचिवालय काठमाडौंमा भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे ।

समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने उल्लेख छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।

कार्यक्रममा वोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले निजी क्षेत्रको सहकार्यबाटै नेपालको पर्यटन विकास गर्न सकिने बताए । उनले महासंघले लिएको पहल सकारात्मक भएको भन्दै यसको लागि बोर्ड मिलेर का मगर्न सधै तयार रहेको बताइ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव गर्दै कार्यक्रमबाट आएका सुझावका आधारमा यस क्षेत्रलाई माथि उठाउन ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा जोड दिए । ‘पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने छ । यसमा मिलेर काम गर्दा राम्रो परिणाम आउँछ भन्ने विश्वास छ । ’उनले भने ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले दुर्व संस्थाबीचको सहकार्य सकारात्मक भएको उल्लेख गर्दै यसबाट नेपालको पर्यटनमा नयाँ सन्देश प्रभाव हुने बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस नाटाका अध्यक्ष रमेश थापा,पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको सहभागिता रहको थियो ।

प्रतिक्रिया