आचारसंहिता उल्लंघनका घटना बढ्दो,आयोगले स्पष्टीकरण माग्दै
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन ९ दिन बाँकी रहेको छ । यसै क्रममा अहिले उम्मेदवारहरु गाउँ घरमा भोट माग्न व्यस्त देखिन्छन् ।
देशभर निर्वाचन प्रचारप्रसारका साथै मतदानको मिति नजिकिंदै गर्दा आचारसंहिता उल्लंघनका घटनाहरु पनि तीव्र हुँदै गएका छन् । पछिल्लो समय निर्वाचन आयोगले दलहरुलाई साथै उम्मेदवारहरुलाई स्पष्टीकरण सोध्ने क्रम पनि बढाएको छ ।
आयोगले निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौं’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले कांग्रेससँग जवाफ माग गरेको हो । निर्वाचन आयोगले त्यो पर्चा सामाजिक सञ्जाल तथा अन्य स्थानबाट तुरुन्त हटाई स्पष्ट पार्न निर्देशन दिएको छ ।
त्यस्तै आयोगले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)सँग जवाफ मागेको छ ।
बाराको ’कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष विक्रम साहलगायत व्यक्तिहरू माओवादी केन्द्रको चुनाव चिह्नअंकित टिसर्टसहित प्रचारमा देखिएको समाचारसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य त्यस दलबाट भएको हो होइन ?’ भनी आयोगले जवाफ मागेको हो ।
नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उमेदवार केशव स्थापितलाई आयोगले पुनः स्पष्टीकरण सोधेको छ । गएको आइतबार उनले बोलेको विषयप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं महानगर प्रमुखका अर्का उमेदवार बालेन साहको विषयमा ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ…’ भन्ने अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण पेस गर्न भनेको छ ।
आयोगले वागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई पनि २४ घन्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
मन्त्री मोक्तान चुनावी प्रचारप्रसारमा निरन्तर खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि उनलाई त्यसबारेमा आधारसहित आयोगलाई स्पष्ट गर्न अनुरोध गरिएको छ ।
निर्वाचन आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसँग स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि आयोगले उनलाई २४ घन्टाको समय दिएर स्पष्टीकरण पेस गर्न भनेको हो ।
निर्वाचन आयोगलाई चुनौतीपूर्ण अभिव्यक्ति दिएको होरहोइन भन्दै आयोगले संवैधानिक आयोगको गरिमा घट्ने गरी अभिव्यक्ति नदिन र आचारसंहिताविपरीतका कार्य नगर्नरनगराउन निर्देशन दिएको छ ।
त्यस्तै आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० को वडाध्यक्ष पदका उमेदवार अमृत खनाललाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।
मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सार्वजनिक भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।