मनाङको नासों गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

काठमाडौं । हिमाली जिल्ला मनाङको नासों गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ निर्वाचित भएको छ ।

गुरुङले ८२० मत प्राप्त गरी विजयी भएको हो । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनबहादुर गुरुङले ६७६ मत प्राप्त गरेको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का वेदबहादुर गुरुङ उपाध्यक्षमा निर्वाचित भएको छ । उनले ९०२ मत प्राप्त गरेको छ भने उनको प्रतिद्वन्द्वीमा स्वतन्त्र अर्जुन गुरुङले ५९१ मत प्राप्त गरेको छ ।

मनाङमा ६२ दशमलव ६० प्रतिशत मत खसेको थियो । कूल ६ हजार ४९६ मतदाता रहेकोमा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताएको छ । सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ ।

नासों गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकोमा एक हजार ४९६ मत अर्थात ८३ दशमलव ०१ प्रतिशत मत खसेको छ । चामे गाउँपालिकामा ७११ मतदाता रहेकोमा ६१० मत अर्थात् ८५ दशमलव ७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेकोमा ३०४ मत अर्थात ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर