मौसमबारे जानकारी नहुँदा प्रभावित हुन थाले आन्तरिक उडान

काठमाडौं । मौसमबारे जानकारी नहुँदा आन्तरिक उडान रद्द हुन् थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेका हुन् ।

समयमै मौसमसम्बन्धी जानकारी नपाएपछि बिहीबार मात्रै यति एयरलाइन्सका १० वटा उडान रद्द भएका थिए ।

प्रतिकूल मौसमकै कारण बिहीबार नेपाल वायुसेवा निगमका दुई, बुद्ध र समिटको एउटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । उड्न नपाउँदा यात्रु दिनभरिको प्रतीक्षापछि घर फर्किनुपरेको छ ।

मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि विमान उड्ने र पुग्ने स्थानबीच (इनरुट)को उडान मार्गको मौसमसम्बन्धी जानकारी अनिवार्य गरिएको छ ।

प्रतिक्रिया