मल नपाउँदा रोपाइँमा समस्या

सर्लाही । असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताउनुभयो ।

गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको जिल्लाका किसानको गुनासो छ । नियमित पानी नपरेको कारण रोपाइँ गर्न समस्या भएको हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले बताए ।

धेरै किसानको खेतमा बीउ छिप्पी सक्दा पनि मलको अभावले समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले गुनासो गरे । मल कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उनको भनाइ छ ।

केही किसानले भने महँगोमै भए पनि भारतीय रासायनिक मल किनेर धान रोपेका छन् । यसरी आएको मल बोराको रु दुई हजार २०० सम्ममा खरिद गर्नुपरेको किसानको गुनासो छ । मल ल्याउँदा सीमामा दुव्र्यवहारसमेत भोग्नु परेको किसान दीपेन्द्र महतोले गुनासो गरे ।

बागमती सिचाइँमा पानी ढिलोगरी सञ्चालन हँुदा पनि किसानले समयमा धान रोपाइँ गर्न नपाएको बताइएको छ । बागमती सिचाइँले मूल नहर मर्मत, सफाइ, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानीय निकायको निर्वाचनले गर्दा ढिलागरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी सञ्चालनमा ढिलाइ भएको बागमती भूमिगत जलस्रोत सिँचाइ आयोजनाले जनाएको छ । सिँचाइले नहरमा गत मङ्गलबारबाट पानी छोडेको हो । पानी सञ्चालन भएपछि नहर नजिकैका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन् ।

यसवर्ष धान रोपाइँ ढिला भएकाले उत्पादनसमेतमा कमी हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देवप्रसाद कुशबाहले बताएका छन् । उनका अनुसार समयमै मल नपाउनु, बागमती नहरमा पानी समयमै नछाडिनु लगायतका कारण धान रोपाइँ ढिलो भएको र मौसमको समेत प्रभाव पर्ने भएकाले धान उत्पादनमा घट्न सक्नेछ । पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाइँ गर्ने किसानसमेत दर्के पानीको पर्खाइमा छन् । जिल्लामा हरेक वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हँुदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

मधेस प्रदेशमा चैते र बर्खे दुबै मिलाएर वार्षिक १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानलाई मागेजति मल पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका प्रमुख दीपक थापा मगरले बताएका छन् । उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन सर्लाही शाखाले जिल्लाका किसानलाई मल तथा बीउबिजन उपलब्ध गराउँछन् । रासस

प्रतिक्रिया
नागरिक मिरर