क्षीरेश्वरनाथ नगरपालिकामा किसानलाई दुहुना भैंसी वितरण

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका किसानलाई दुहुना भैंसी वितरण गरिएको छ ।

किसानको आयस्तरमा बृद्धि, पोषणमा सुधार र बाहिरबाट आयात हुने दुग्धजन्य पदार्थमा कमी ल्याउनले उद्देश्यले नगरपालिकाको वडा नं.१० मा भैंसी वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाका पशु विकास अधिकृत विष्णुदेव यादवले जानकारी दिएका छन् ।

आ.व. २०७८÷०७९ नगरपालिकामा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना द्धारा संचालित भैंसीको पकेट विकास कार्यक्रम अन्तर्गत उक्त भैंसी वितरण गरिएको पशु विकास अधिकृत यादवले जनाए । उनले परियोजनाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारी भैंसी उपलब्ध गराइएको बताए ।

शनिवार वडा नं.१० को हारसरमा १ लाख बरारबरको भैंसी उक्त वडाका ३० जना किसानलाई वितरण गरिएको छ ।

पशुपालक किसानलाई सो भैंसी नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले हस्तान्तरण गरेका थिए । नगर प्रमुख यादवले किसानलाई भैंसी हस्तान्तरण गर्दै भने, ‘यो कार्यक्रमलाई प्रत्येक आ.व.मा क्रमस सबै वडामा निरन्तरता दिनेछु।’ बजेटले भ्याएसम्म वास्तविक किसानको पहिचान गरी उनीहरुको आयस्तरमा बृद्धि हुने उद्देश्यले किसानहरुको लागि यस्ता किसिमको योजना तथा कार्यक्रमहरु ल्याउने समेत प्रतिबद्धता नगर प्रमुख यादवले जनाए ।

उनले किसानालाई भैंसी वितरण मात्रै होईन उक्त भैंसीबाट उत्पादन भएका दूधलाई बजारीकरणको समेत व्यवस्था मिलाउन दूध सङ्कलन केन्द्रको स्थापना गरिने बताए ।

आ.व.२०७८।०७९ मा परियोजनाको २५ लाख कुल बजेट मध्ये १५ लाख बराबरको भैंसी वितरण गरिएको छ । त्यसैगरी बजेटको ५ लाखबाट गोठ निर्माण र बाँकीको ५ लाखबाट कृषकको लागि दुई दिने क्षमता अभिबृद्धि गोष्ठी, घाँसको विउ वितरण, पशुको बिमा तथा पशु स्वास्थ्य परीजिवि नियन्त्रण कार्यक्रम गरिएको छ ।

पशुपालक किसानले ५० प्रतिशत अनुदानमा नगरपालिकाबाट भैंसी पाएपछि हर्षित भएका थिए ।

प्रतिक्रिया
नागरिक मिरर