जीर्ण भवनमा पढ्न बाध्य तुलसीपुरका दुई सय २२ विद्यार्थी

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । वि.सं. २०१७ मा स्थापना भएको विद्यालयका सबै भवन जीर्ण भएका हुन् । जीर्ण भएको भवनबाट पानी चुहिने गरेको छ भने खानेपानीको अवस्था पनि नाजुक रहेको छ । त्यस्तै शौचालय पनि अव भत्तकिएला भन्ने अवस्थामा पुगेको विद्यार्थीहरुले बताए ।
भवन जीर्ण हुँदा विद्यार्थीमा निकै त्रास बढेको छ । “भवन निकै जीर्ण अवस्थामा छ, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भने, “यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।” पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उनले गुनासो गरे ।
केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो । तर, विद्यालयको अवस्था भने जीर्णको जीर्ण रहेको स्थानीयहरु बताउछन् ।
उक्त विद्यालयमा शिशु कक्षादेखि ८ सम्म पठनपाठन हुन्छ । उक्त विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् भने विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्नका लागि पहल भइरहेको वडाध्यक्ष शङ्कर खड्काले बताए । उक्त विद्यालय पुरानो पनि भएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।






