सेभ द चिल्ड्रेनको ‘नेतृत्व’ परियोजनाले मधेशी दलित समुदायका किशोरी र महिलामा आत्मविश्वास बढाउँदै

काठमाडौँ । मधेशी समुदायका दलित महिला तथा किशोरीहरूले सेभ द चिल्ड्रेनले समावेशीता र आवाज स्थापित गर्न सुरु गरेको ‘नेतृत्व’ परियोजनामा आवद्ध हुन पाउँदा खुशी भएको बताएका छन् ।
सेभ द चिल्ड्रेनले दलित समुदायका किशोरकिशोरीहरूको समावेशीता र आवाज स्थापित गर्न ‘नेतृत्व’ नामक परियोजना हाल महोत्तरीको पिपरा गाउँपालिका र सर्लाहीको बलरा नगरपालिकामा सञ्चालन गर्दै आएको छ ।
जसमा मधेशी समुदायका दलित महिला तथा किशोरीहरू आबद्ध छन् । परियोजनामा सहभागी सर्लाहीका रामवती पासवानले आफूमा परिवर्तन आएको बताइन् । उनले समुदायमा आफू दलित भएकै कारण सामना गर्नुपरेका तिरस्कार, भेदभाव र असमानताविरुद्ध बोल्न परियोजनाले सहयोग गरेको बताइन् । कथित उपल्लो जात र आफू दलितबीच कुनै भेदभाव नरहेको तथा संविधानले पनि हक दिएका कारण नेतृत्व परियोजना निकै उपयोगी भएको उनको भनाइ छ ।
परियोजनामा सहभागी महोत्तरीका रिता देवी महरा पनि आफू विभेदमा परेको बेला आवाज उठाउन सक्ने भएको बताइन् । उनले परियोजनाले आफूमा आत्मविश्वास बढेको र दलित भएकै कारण आफूमाथि हुने विभिन्न विभेद र हिंसाविरुद्ध आवाज उठाउन सक्ने क्षमता विकास भएको उल्लेख गरिन् ।
सेभले बिहीवार काठमाडौँमा सम्पन्न गरेको दलित महिला तथा किशोरीहरूको सम्मेलनमा पनि दुई पालिकाका किशोरी तथा महिलाहरू सहभागी थिए ।
राष्ट्रिय समावेशी आयोग, सेभ द चिल्ड्रेन तथा गैर सरकारी संस्थाहरूको संगठन ९ब्क्ष्ल्० ले दलित महिला तथा किशोरीहरूको सम्मेलन सम्पन्न गरेको हो ।
सहकार्यात्मक नेतृत्वकालागि समावेशी संवाद कार्यक्रममा सर्लाही र महोत्तरी जिल्लाका ६० जना दलित महिला तथा किशोरीहरूले समावेशीता, महिला तथा किशोरीहरूको नेतृत्वदायी भूमिकामा पहुँच, दलित समुदायमाथि हुँदै आएको भेदभाव सम्बन्धि सरोकारवाला निकायहरूसँग सवाल जवाफ गरेका थिए ।
संवाद कार्यक्रममा सहभागिहरूलाई स्वागत गर्दै सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले महिला तथा किशोरीहरू विषेश गरी दलित समुदायका महिला तथा किशोरीहरूरुलाई अवसर र समर्थनको खाँचो रहेको बताइन् ।
उनले उनीहरूलाई उचित अवसर दिन सकेको खण्डमा महिला तथा किशोरीहरूले आफ्ना आवाज उठाउन सक्ने र समाजमा आफ्नो हक स्थापना गर्न सफल हुने पनि बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमल्सिनाले सबैमा क्षमता भएको हुँदा र कोहीभन्दा कम नभएका कारणले महिला पनि सक्षम रहेको बताए ।
उनले भने, ‘महिलाहरूले पनि नेतृत्व गर्न सक्छन् भन्ने प्रशस्तै उदाहरण हामीसँग छन् । हामी सबै मिलेर महिला तथा किशोरी नेतृत्व विषेश गरेर दलित नेतृत्वका लागि जवाफदेही हुनुपर्छ ।’
महिला र किशोरीहरूलाई आवाज उठाउने, आफ्ना भनाइहरू राख्ने र समाजमा उनिहरूको हक स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरीएको कार्यक्रममा उपस्थितहरूले राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, दलित आयोग, महिला आयोगका तथा नेतृत्व परीयोजनाका सहभागीहरूले प्रश्न गरेका थिए ।






