ईरानमा महसा अमिनीको मृत्यु प्रकरणः महिलाहरू सडकमा, ४० भन्दा बढीको मृत्यु

एजेन्सी । ईरानमा २२ वर्षीया महसा अमिनीको मृत्यपछि महिलाहरू अधिकारको माग गर्दै सडकमा उत्रेका छन् ।
१६ सेप्टेम्बरका दिन उनको ईरानको राजधानी तेहरानस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो ।
मुस्लिम समुदायका महिलाले लगाउने हिजाबसम्बन्धी नियम उल्लङ्घन गरेको भन्दै महसालाई १३ सेप्टेम्बरमा प्रहरीले हिरासतमा लिएको थियो ।
तेहरानको मोरैलिटी प्रहरीका अनुसार महसाले सार्वजनिक स्थानमा टाउको छोप्ने तथा खुकुलो लुगा लगाउने नियमको उल्लङ्घन गरेकाले नियन्त्रणमा लिइएको थियो ।
ईरानी कानूनका अनुसार सार्वजनिक स्थानमा महिलालाई हिजाब लगाउन अनिवार्य गरिएको छ । जसमा टाउकोको कपाल देखिनुहुँदैन । महसाले हिजाब लगाएको तर, उनको कपाल देखिएको भन्दै प्रहरीले प्रक्राउ गरेको थियो ।
मोरैलिटी प्रहरी, १९७९ को क्रान्ति पछि ईरानमा सामाजिक मुद्दालाई समाधान गर्नका लागि गठन गरिएको प्रहरी इकाई हो । जसले सामाजीक गतिविधिसँग सम्बन्धित विषयलाई हेर्ने काम गर्छ ।
ईरानको कुर्दिस्तान प्रान्तको साकजि सहरमा बसोबास गर्दै आएकी महसामाथि प्रहरीले हिरासतमै कुटपिट गरेको र उनको पोस्टमार्टम रिपोर्ट पनि नदिएको तथा मृत्युको कारणबारे पनि पत्ता नलागेको परिवारको आरोप छ । प्रहरी हिरासतमा रहेकी महसाको अकस्मात मृत्यु भएपछि ईरानमा प्रदर्शन तीव्र बनेको हो ।
ईरानका ८० भन्दा बढी सहरमा प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शमा हालसम्म ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने १ सयभन्दा बढी घाइते भएका छन् ।
ईरानी महिलाहरू आफ्नो स्वतन्त्रताको माग गर्दै प्रदर्शनमा छन् । उनीहरूले हिजाब लगाउने सरकारको नियमको विरोध गर्दै आफ्ना अधिकारको माग गरिरहेका छन् ।
ईरानमा भएको यस घटनाप्रति विश्वका विभिन्न मुलुकले विरोध जनाएका छन् । अमेरिकाले ईरानको मोरैलिटी प्रहरीलाई कालोसूचीमा राखेको छ भने फ्रान्सले घटनालाई लज्जास्पद भनेको छ ।






