धनुषामा जसपापछि एमालेलाई पनि धक्का, डा. यादवसहित दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं.४ मा जसपापछि एमालेलाई पनि धक्का लागेको छ । गत आईतवार उम्मेदवारी दर्ता गर्ने दिन टिकट नपाएपछि जसपाका प्रदेश वरिष्ठ उपाध्यक्षसहित दर्जनौं प्रभावशाली नेता कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका थिए ।
नागरिकता विधेयकको सवालमा मधेसमा विवादिन बनेका एमाले र एमालेसँग गठबन्धन गरेका जसपाका कार्यकर्ताहरु पार्टी परित्याग गर्नेको सङ्ख्या बढ्न थालेको छ ।
चुनावको मुखमा आएर यसरी एमाले र जसपा परित्याग गरी दर्जनौ नेता कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गर्दा एमाले र जसपा गठबन्धनलाई ठूलो झट्का लागेको छ ।
बुधवार काँग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवको निवास लक्ष्मीनियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमा नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य डा. सञ्जीव यादवसहित दर्जनौं नेताकार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीसहित एमालेका दुई दर्जनभन्दा बढी र जसपाका केही नेता कार्यकर्तालाई काँग्रेसले पार्टीमा स्वागत गरेको छ ।
काँग्रेसबाट धनुषा क्षेत्र नं. ४ का उम्मेदवार समेत रहेका सहमहामन्त्री यादव, काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पंजियार र धनुषा ४ (क) का उम्मेदवार शेषनारायण यादवले नव प्रवेशीहरूलाई फूलमाला, अविर लगाएर स्वागत गरेका छन् ।
युवा नेता सञ्जीव यादवले एमालेमा हैकमवादी र व्यक्तिवादी तानासाही हावी भएकाले आफू काँग्रेस प्रवेश गरेको बताए ।
उनले पार्टीमा खट्ने नेताकार्यकर्ताको कदर र मूल्याङ्कन नहुने गरेको, मधेशको नागरिकता समस्याप्रति एमाले बाधक बनेको लगायतको कारण एमालेप्रति वितृष्णा बढेकोले आफू देशको एक मात्र लोकतान्त्रिक पार्टी काँग्रेसमा प्रवेश गरेको बताए।
नेपाली काँग्रेसका सहमहामन्त्री तथा धनुषा ४ का उम्मेदवार यादवले देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली काँग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनीहरूले लिएका निर्णय सही भएको बताए । उनले नव प्रवेशीहरूलाई पार्टी उचित र सम्मान जनक स्थान दिने बताए ।






