प्रचण्डको प्रधानमन्त्री दावीले गठबन्धनको भविष्य अनिश्चयको भूमरीमा

काठमाडौं । माओवादी केन्द्रले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसले पहिलाको सहमतिविपरीत कुरा गरेको बताएको छ।

बैठक बाहिर गठबन्धनभित्रै बाट प्रधानमन्त्री बन्ने भनेपनि माओवादीले भने कांग्रेस चुनावअघिकाे सहमतिबाट पछाडि हटेको बताउँछ ।

आजको बैठकमा कांग्रेसले चुनाव पहिला भएको सहमतिविपरीत कुरा गरेको माओवादीका स्रोतले बताएको छ । स्रोतले भने, ‘खुमलटारमा आएर पूर्णबहादुर खडकाले माओवादीलाई प्रधानमन्त्री दिन तयार छ‌ भन्नुभयो। तर, आजको बैठकमा शेरबहादुर देउवाले माओवादीलाई प्रधानमन्त्री दिन नसकिने कुरा गर्दा बैठक निष्कर्षविहीन टुंगिएको हो । भोलि आईतवार बिहान प्रचण्ड अन्तिम वार्ता देउवासँग गर्नुहुन्छ । सहमति नभए गठबन्धनबाट माओवादी बाहिरिन्छ ।’

चुनावभन्दा अघि माओवादीलाई प्रधानमन्त्री दिने सहमति भएको गठबन्धनले बैठकमा अनिश्चय रहेको र कांग्रेसम दबाबमा रहेको बताएको बैठकमा सहभागी एक नेताले नागरिक मिररलाई बताए ।

प्रधानमन्त्री नपाउने निश्चय देखेकाले माओवादी नेताहरू अब गठबन्धन अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको स्रोतको कथन छ । स्रोतका अनुसार भोलि बिहान दश बजे प्रचण्डले देउवासँग अन्तिम वार्ता गर्ने र प्रधानमन्त्री दिएसँगै बस्ने नदिए गठबन्धनबाट बाहिरिने कुरा हुनेछ।

चुनाव अगाडि जसरी पनि गठबन्धन टिकाएर लैजाने भनेका गठबन्धनका दलहरू अहिले आएर आआफ्नै सत्ता दाउमा लागेका छन् । कांग्रेसले एमाले र साना दलहरूसँग पनि वार्ता गरेको माओवादीले जानकारी राखेको भए पनि अन्तिमपटक भोलि बिहान प्रचण्डले वार्ता गर्ने तयारी गरेका छन् ।

भोलि बस्ने गठबन्धनको बैठकमा के सहमति हुन्छ त्यसले गठबन्धनको भविश्य निर्धारण गर्ने माओवादीका उपमहासचिव शक्ति बस्नेतले नागरिक मिररलाई जानकारी दिए । उनले भने, ‘आज सहमति हुन सकेन । भोलि बैठक बस्छ । भोलिको बैठकले के निर्णय गर्छ हेर्न बाकी छ । देउवाले मनसायमा परिवर्तन नगरे गठबन्धन तोडिन्छ ।’

प्रतिक्रिया