मिथिला माध्यमिकी परिक्रमा सतोषरमा

जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज(बिहीबार) सतोषर पुगेको छ । परिक्रमाको ११ औं दिन बुधबार धनुषाधाममा विश्राम गरेको परिक्रमा यात्रीहरु आज सतोषर पुगेका छन् । परिक्रमा यात्रीहरुको स्वागतको लागि सबैला नगरपालिकाले सरसफाइ र शौचालय निर्माणको कामहरु गरेका छन् ।
त्यस्तै सतोषरमा अवस्थित मिथिलेश्वरनाथ महादेव मन्दिरलाई पनि सजाइएको छ । यसै अवसरमा नगरपालिकाले आज सार्वजनिक विदा पनि दिएको छ । धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट गत फागुण ८ गतेदेखि सुरु भएको परिक्रमा ११ औं विश्राम स्थलमा आइपुगेको छ ।
फागुनको औंशीदेखि पूर्णिमासम्म चल्ने माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरि १ सय २० किलोमिटर भू–भाग साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्दछन् ।
बृहत्, मध्य र अन्तरगृह गरि ३ प्रकारको परिक्रमा गर्ने चलन छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेख्य नै छ । डोलाको पछि–पछि परम्परागत बाजागाजा, झाँकी किर्तन सहित मौलिक पहिरनमा लाखौं भक्तजनहरू सहभागी हुने गर्छन् । लावा लस्करसहित मिथिलाको चारै स्थानका धार्मिक स्थलहरूको परिक्रमा गर्ने परम्परा छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानेर परिक्रमा गर्ने परम्परा छ । १५ दिने माध्यमिकी परिक्रमलाई नै मध्यमा परिक्रमा भनिन्छ ।
१५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ(पर्वता), धनुषाधाम, सतोषर(मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।






