१० बुँदे घोषणापत्र जारी गर्दै दिगो विकास सम्बन्धी युवाहरुको भेला सम्पन्न

काठमाडौं। पाँचौ नेपाल दिगो विकास युवाहरूको भेलाले १० बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ। युथ एड्भोकेसी नेपालको आयोजनामा काठमाडौंमा भएको दुई दिने भेलाले दिगो विकास लक्ष्य प्राप्तिका क्षेत्रमा विभिन्न १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

सन् २०१५ सेक्टेम्बर २५ बाट विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको उक्त कार्यक्रमले युवाहरूका मुद्धाहरूलाई सम्बोधन, त्यसको कार्यान्वयन र भावी रणनीतिका बारेमा छलफल भएको थियो। राष्ट्रिय योजना आयोग, युवा परिषद् लगायतका युवाका क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवालाहरूको संग्लनतामा विभिन्न क्षेत्रका युवाहरूसहितको भेलाले दिगो विकास लक्ष्यको प्राप्तिका लागि पर्याप्त बजेटको विनियोजन गर्दै यसलाई स्थानीयकरण गर्नु पर्नेमा जोड दिएका छन्।

१० बुँदे काठमाडौं घोषणापत्रमा प्राप्त बजेट विनियोजन, राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ लाई वर्तमान युवाको आवश्कता तथा चाहना बमोजिम युवाहरूको सहभागिता गराइनुपर्ने, राज्यका प्रत्येक अङ्गमा युवाहरूको समानुपातिक र अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चित गर्दै गुणस्तरिय शिक्षा, सिप विकास, सुलभ स्वास्थ्य सेवा, मर्यादित रोजगार तथा उद्यम शिलतामा युवाहरूको सहज पहुँच सुनिश्चित गर्नु पर्नेमा जोड दिइएको छ।

त्यसैगरी, संघीय संरचना अनुसार युवाहरूको अगुवाईमा राष्ट्रिय युवा परिषद्को ऐन संसोधन गर्नुपर्नेमा जोड दिँदै प्रदेश तथा स्थानीय तहसम्म युवा परिषद्को संयन्त्र स्थापित गर्नुपर्ने उल्लेख गरेको छ। रोजगारको क्षेत्र पहिचान गर्दै उक्त क्षेत्रमा आवद्ध मजदुरहरूको सामाजिक सुरक्षा तथा संरक्षण सुनिश्चित गर्नुपर्ने, जलवायु परिवर्तन तथा वातावरण विनासको कारणले अल्पसंख्यक तथा सिमान्तकृत नागरिकहरूमा पारेको नकारात्मक प्रभावहरूलाई सम्बोधन गर्नका लागि तीनवटै तहमा बजेट तथा नीति तर्जुमा गर्दा प्राथमिकतामा राख्नु पर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ।

यसका साथै सबै क्षेत्रका युवाहरूको अर्थपूर्ण सहभागिता, भेदभाव तथा छुवाछुतको अन्त्य गर्दै अल्पसंख्यक तथा सिमान्तकृत युवाहरूको हक तथा अधिकार सुनिश्चित गर्न विषेश नीति, कार्यक्रम योजना तर्जुमा गर्नु पर्ने, शिक्षाको गुणस्तरियता र सबैको पहुँचका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरे बमोजिम कुल बजेटको कम्तिमा २० प्रतिशत बजेट सार्वजनिक शिक्षामा लगानी गर्नुका साथै संविधानले प्रदत्त गरेका मौलिकहकहरूको कार्यान्वयन गर्नु पर्नेमा जोड दिइएको छ। घोषणापत्र कार्यान्वयनका लागि राष्ट्रिय युवा परिषद्‌मार्फत् राष्ट्रिय योजना आयोग र युवा तथा खेलकुद मन्त्रालयमा बुझाउने युथ एड्भोकेसी नेपालका अध्यक्ष धामीले बताए।

भेलामा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल,राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत,राष्ट्रिय युवा परिषद्का सदस्य सचिव रमाकान्त शर्मा, कार्यक्रममा युथ एड्भोकेसी नेपालका सल्लाहकार नरेन खतिवडा लगायतले आफ्नो महत्वपूर्ण भनाई राखेका थिए। उक्त भेला कार्यक्रमको भिएसओ, नाफान, शिक्षाका लागि राष्ट्रिय अभियान, होम नेट नेपाल, ग्लोवलपिस फाउन्डेसन लगायतका संस्थाहरुसँगको सहकार्य रहेको थियो भने, विभिन्न क्षेत्रका १५० बढी युवाहरुको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया