गृह तथा सञ्चारमन्त्री सिंहको सचिवालयले भन्यो – मन्त्रीसँग ४ वटा होइन, एउटा मात्रै गाडी छ

जनकपुरधाम। मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहको सचिवालयले गाडीको विषयमा सार्वजनिक समाचारको खण्डन गरेको छ ।

मन्त्रीले ४ वटा गाडी प्रयोग गरिरहेको भनेर सार्वजनिक भएको समाचारको उनको सचिवालयले खण्डन गरेको हो ।

मन्त्री सिंहको सचिवालयले उक्त समाचार निराधार र भ्रामक रहेको बताएको छ । केहि दिनअघि मन्त्री सिंहले चारवटा चारपाङ्ग्रे गाडी आफूसँगै राखेको समाचार सार्वजनिक भएको थियो ।

तर, सचिवालयले मन्त्री सिंहले एउटा मात्रै गाडी चढिरहेको जनाएको छ । सचिवालयका अनुसार, एउटा अर्को गाडी भने विकल्पका रुपमा स्ट्यान्डबाई राखिने गरिएको छ । मन्त्रालयसँग जम्मा १० वटा गाडी रहेको पनि सचिवालयले जनाएको छ ।

जसमध्ये ३ वटा बिग्रेर थन्किएको अवस्थामा रहेको, एउटा राज्यमन्त्रीले चढ्ने गरेको, एउटा सचिव, एउटा उपसचिव, एउटा पछुवाले प्रयोग गरिरहेको तथा एउटा गाडी मर्मतका लागि ग्यारेजमा रहेको छ ।

मन्त्री सिंहको सचिवालयले तथ्य नबुझेर गरिने पत्रकारिताले आम जनताको प्रेसप्रतिको विश्वास घट्ने भन्दै सत्यतथ्यमा टेकेर समाचार सम्प्रेषण गर्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया
    ट्याग: