सङ्घ सरकारमा बदलिएको सत्ता समीकरण, मधेसमा देखिएन प्रभाव

जनकपुरधाम । सङ्घीय सरकारमा बदलिएको समीकरण र त्यसको असर अन्य प्रदेशमा देखिएपनि मधेस प्रदेश सरकारमा भने हालसम्म कुनै हलचल देखिएको छैन् ।

जनता समाजवादी पार्टी,‌ नेपाल (जसपा) को नेतृत्व रहेको मधेस प्रदेश सरकारमा पुनि फेरबदल भइ पूनर्गठन हुने सम्भावना प्रवल रुपले बढेको थियो । तर, सङ्घमा सत्ता गठबन्धन सत्ता समीकरणबारे ठोस् निष्कर्षमा पुग्न नसकेपछि प्रदेश सरकार केन्द्रको निर्देशन कुरेर बसिरहेको छ ।

‘सङ्घमा सत्ता गठबन्धनले जे गर्छ त्यही अनुसार प्रदेशहरूमा पनि हुने हो’ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव भन्छन,–‘सरकार पूनर्गठनबारे अहिलेसम्म केही निर्देशन आएको छैन् । पहिले पनि सङ्घमा सत्ता गठबन्धनले गरेको निर्णय अनुसारै प्रदेशमा सरकार बनेको छ । अहिले पनि त्यही हुन्छ ।’

पुष १० मा माओवादी एमालेको गठबन्धन हुँदा प्रदेशमा पाँच वर्ष जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने गरी सहमति भएको थियो । तर, राष्ट्रपतिको निर्वाचनमा काँग्रेस माओवादीको गठबन्धन बनेपछि प्रदेशमा काँग्रेसले नेतृत्व दावी गरिरहेका छन् ।

१० दल सहभागी मधेश प्रदेशमा काँग्रेस २२ सांसदसहित दोस्रो ठूलो दल छ ।

‘सङ्घमा काँग्रेस–माओवादीसहित बनेको नयाँ १० दलीय गठबन्धनबाट मधेस प्रदेशको नेतृत्व नेपाली काँग्रेसले पाउनुपर्छ’ नेपाली काँग्रेस मधेस प्रदेशका दलका नेता कृष्णप्रसाद यादवले भने,–‘नयाँ गठबन्धन बनेसँगै प्रदेशमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस रहेको हुँदा सरकारको नेतृत्व काँग्रेसले पाउनुपर्छ ।’

एमाले माओवादीसहितको गठबन्धनमा भएको सहमति अनुसार जनता समाजवादी पार्टी(जसपा) नेपालले नेतृत्व पाएको थियो । उनले भने,–‘सोही सहमतिले यस गठबन्धनमा पनि निरन्तरता पाउँछ भन्ने छैन ।’


मधेस प्रदेशमा एक दुई दिनमै सरकार पुनर्गठन हुने उनले बताए । केन्द्रबाट ठोस निर्णय नआउँदा प्रदेश सरकार पुनर्गठन हुन नसकेको बताए ।

प्रदेशमा काँग्रेसले नेतृत्व पाउनुपर्ने दावी गर्दा जसपाले एमालेलाई सरकारबाट बाहिरिन रोकिरहेको छ ।

‘मुख्यमन्त्री ज्यूसँग नियमति भेटघाट भईरहेकै छ, छलफल पनि हुन्छ नै, बुधवर नै राजीनामा दिन्छु भनेर उहाँलाई भनेको थिएँ तर, उहाँले राजीनामा त दिनु नै छ, दुई चार दिन बस्नुस् न भन्नुभयो’ भौतिक विकास पूर्वाधार मन्त्रीसमेत रहेका एमाले दलका नेता सरोजकुमार यादवले भन,–‘नेपाली काँग्रेसले प्रदेशमा मुख्यमन्त्री दावी गर्दा जसपालाई पनि अप्ठयारो भएको छ ।’

प्रदेशमा सभामुख एमालेको छ । त्यसैगरी सरकारमा एमालेको चार मन्त्री र एक राज्यमन्त्री छन् ।

एमालेका मन्त्रीहरुले समर्थन फिर्ता लिँदै बिहवार बसेको मन्त्रीपरिषद्को बैठकमा मुख्यमन्त्रीलाई राजीनामा बुझाउने योजना थियो । तर, मुख्यमन्त्री यादवले नै उनीहरुलाई राजीनामा बुझाउन रोकेपछि सरकारमा एमाले हालसम्म कायम रहेको छ ।

यता माओवादी केन्द्र मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले सङ्घमा भएकै सहमति प्रदेशमा कार्यान्वयन हुने बताए । यसअघि उनले उपराष्ट्रपति निर्वाचन पछि एक दुई दिनमै सरकार पुनर्गठन हुने बताएका थिए ।


सङ्घमा शीर्ष नेताहरू छलफलमा रहेको र त्यहाँ भएको निर्णय अनुसार प्रदेशमा सरकार पूनर्गठनको वातावरण निर्माण हुने उनले बताए ।

मधेसमा १३ सांसदसहित सरकारमा सहभागी जनमतले मधेश प्रदेश सरकारको दास्रो कार्यकालको नेतृत्व गर्ने पर्खाईमा छन् । अहिलेको गठबन्धनमा जनमतले पनि दाबी गरिरहेको छ । १० दलीय गठबन्धनमा जनमत तेस्रो ठूलो दल छ ।

‘शीर्ष नेतृत्वहरू यस विषयमा के गरिरहनुभएको छ त्यो थाहा भएन, औपचारिक रुपमा केही आएको वा सुनिएको छैन्’ कृषि राज्यमन्त्री समेत रहेका जनमत सांसद संजय कुमार यादवले भने,–‘तर अबको नयाँ गठबन्धनमा सरकारको नेतृत्व जनमतले गर्नुपर्ने हाम्रो माग छ ।’

‘यहाँ विश्वासको वातावरण छैन्’, राज्यमन्त्री यादवले भने,–‘दलका नेताहरुसँगको छलफलमा काँग्रेसलाई पनि भनेको छु अब सरकारको नेतृत्व जनमतले पाउनुपर्छ । त्यतिखेर काँग्रेस पनि सकारात्मक थियो । पहिलो चरणमा जनमतलाई दिऔं भनेको थियो । तर अहिले काँग्रेसले पनि दावी गर्दैछ भन्ने सुनेको छु ।’

सरकार पूनर्गठनको लागि १० दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज साँझ सङ्घीय राजधानीमा बसिरहेको राज्यमन्त्री यादवले बताए । आज बस्ने उक्त बैठकपछि केही ठोस निर्णय आउँछ उनले भने ।

यस प्रदेशमा एमालेको २४, काँग्रेसको २२, जसपाको १९, जनतम १३, लोसपा ९, माओवादी ९, नेकपा एकीकृत समाजवादी सात, नागरिक उन्मुक्ति र राप्रपाको एक/एक तथा स्वतन्त्र सांसद एकजना छन् ।

प्रतिक्रिया
    ट्याग: