जनकपुरमा अनलाइनमार्फत ठगी कारोबारमा संलग्न २३ पक्राउ

जनकपुरधाम । अनलाइन ठगी कारोबारमा सङ्लग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । आज साँझ जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउस नजिकैबाट पक्राउ गरेको हो ।

पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। गौतमका अनुसार उनीहरूले विभिन्न एपमार्फत हनिट्र्याप जस्तो धन्दा गर्दै आएका थिए ।

पक्राउ पर्नेमा १४ पुरुष र नौ महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको गौतमले जनाए । पर्सा पकहा मोहनपुर–५ का सत्यानन्द रामले यो गिरोहको नेतृत्व गर्दै आइरहेका थिए । धनुषाको सबैला घर भई जनकपुरमै रहँदै आएकी सञ्जु साहले अनलाइन ठगीको कारोबार सम्हाल्दै आएको प्रहरीले बताएको छ ।

यो गिरोहमा २० देखि ३० वर्ष उमेर समूहका युवायुवती रहेका छन् । आधाभन्दा बढी युवतीले सेवाग्राही खोज्ने र आफ्नो जालमा पार्नका लागि विभिन्न प्रलोभन दिने र पछि तस्बिर आदानप्रदानमार्फत नग्न फोटो भिडियो बनाएर ब्ल्याकमेल गर्दै रकम उठाउँदै आएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया