प्रादेशिक अस्पताल जनकपुरमा व्यवस्थित जनशक्ति नहुँदाको पीडा कसले बुझिदिने ?

दिउँसोको १ बजेको थियो । म जनकपुर प्रादेशिक अस्पतालको प्राङ्गणमा छेउ लागेर उभिरहेको थिए । एकजना बालरोग विशेषज्ञ अस्पताल परिसरभित्र फोनमा गफ गर्दै आउँदै थिए । अस्पतालमा ५ महिनाको बच्चा इमरजेन्सीमा ल्याइएको थियो । उनको संवाद अनुसार बच्चाको अवस्था संवेदनशिल थियो ।

नाम नखुलाउने शर्तमा उनीसँग घटनाबारे बुझ्न खोजे । उनले आफ्नो संवादको विस्तृत बताउँदै…

इमरजेन्सीबाट कल आयो : डाक्टर साहब, ५ महिनाको बच्चा इमरजेन्सीमा कामी रहेको अवस्थामा ल्याएको छ ।

डाक्टर : ठिक छ म आउँदै छु । त्यतिञ्जेल देब्रेकोल्टे पारेर बच्चाको रगतमा चीनिको मात्रा हेर्दै गर्नुस ।

अस्पतालको इमरजेन्सीमा पुग्दा बच्चा आमाको दाहिने छेउमा देव्रेकोल्टे परेर अचेत अवस्थामा कामी रहेको दृश्य देखिन्थ्यो । र्याल पनि मुखभरी थियो ।

डाक्टरले इमरजेन्सीमा सोधे : चीनिको मात्रा कति छ ?
इमरजेन्सीमा कार्यरत प्राविधिकले जवाफ दिए : मात्रा नाप्ने ग्लुकोस्ट्रिप छैन डाक्टरसाब ।

डाक्टरले प्राविधिकलाई भने : इन्जेक्सन गार्डेनल औषधि दिनुस ।

प्राविधिकले फेरि जवाफ दिए : डाक्टरसाब औषधि त छ तर, औषधि दिनका लागि चाहिने नर्मल स्लाइन छैन ।

इमरजेन्सीको छेउमा रहेको एचडीयूबाट डाक्टरले नर्मल स्लाइन लिएर आए र बच्चाको औषधि उपचार सुरु भयो ।

त्यतिकैमा बच्चाको बुबा र काकाले औषधि लिएर आए । अनि, डाक्टरलाई भने, डाक्टरसाहेब हामीसँग भएको पैसा सबै सकियो । अब उपचार गर्न नसकिने भयौं ।

डाक्टरले भने : हजुरको बच्चा फेबराइल स्टाटस इपिलेप्टिकसमा गएको छ । यो भनेको कुनैपनि ६ महिनादेखि ५ वर्ष मुनिको बच्चा ज्वरो आउँदा काम्नु, अचेत अवस्थामा जानु, र यो अवस्था ३० मिनटभन्दा बढी हुनु हो । यसलाई गम्भीर अवस्था भनेर बुझ्नु पर्छ । हामी उपचार गर्दैछौं । यहाँ भएको स्रोत र साधनले भ्याएसम्म । बिरामी बच्चालाई बच्चाको सधन उपचार कक्षको आवश्यकता छ । तर, हाम्रो अस्पतपालमा बच्चाको सधन उपचार कक्ष छैन । तर, एचडीयूमा व्यवस्था गर्छौ । चिन्ता नलिनुस् ।

त्यतिकैमा डाक्टर एचडीयू तर्फ लागे । बच्चालाई व्यवस्थापन गर्नका लागि । तर, त्यहाँ कार्यरत डाक्टरले भने, हामी बिरामी लिन सक्दनौं । किनभने हामीसँग पर्याप्त नर्सिङ जनशक्ति छैन ।

अन्त्यमा डाक्टरले आफैले जोखिम लिँदै उपचार सुरु गराए । नर्सिङ जनशक्ति व्यवस्थापन गर्दै बिरामी बच्चालाई एचडीयूमा भर्ना गरियो ।

प्रादेशिक अस्पतालको यो घटना पहिलो घटना भने होइन । यसअघि पनि यस्ता कैयन घटनाहरू देखिएका छन् र अझैपनि देख्न सकिन्छ ।

अस्पतालमा बिरामीको चाप अनुसारका न त व्यवस्थित जनशक्ति छन् न त पूर्वाधार । तर, उपकरण भने किन्या किनै हुन्छ अस्पतालले । जसका कारण अस्पताल पुग्ने अधिकांश बिरामीको गुनासो हुन्छ, अस्पतालमा गुणस्तरीय सेवा त परको कुरा, आधारभूत सेवा पाउन पनि गाह्रो हुन्छ ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा धनुषासहितका विभिन्न जिल्लाका गरी दैनिक हजारदेखि १५ सय बिरामी आउने गर्छन् । तर, अस्पतालमा बिरामीको अनुपात अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको अभाव हुनुका साथै आवश्यक जनशक्ति र पूर्वाधार नभएका कारण समस्यामा दशकौंदेखि कुनै सुधार हुन सकेको छैन ।

विशेषगरी बालबालिकाको उपचारका लागि इमरजेन्सीमा चाहिने पर्याप्त जनशक्तिको खाँचो, पर्याप्त ट्रायज सिस्टमको खाँचो, औषधि पसलको आन्तरिक व्यवस्थापन फितलो हुनुका कारण सँधै जसो उपचार गर्ने डाक्टरले पीडा भोगिरहनु परेको छ ।

संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा व्याख्या गरेको भएपनि मधेशमा भने स्वास्थ्य सूचकाङ्क कमजोर छ । आफ्ना नागरिकका लागि न त प्रदेश सरकारले ध्यान दिएको छ न त स्वास्थ्यमन्त्रीले नै ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पतालका उपकुलपति डा.रामकेवल साह, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव लगायतले आफ्ना हरेक भाषण, गोष्ठी र कार्यदेशमा स्वास्थ्य अवस्था सुधारिनुपर्ने भनेर बोल्छन्, आश्वस्त बनाउँछन् तर, त्यो भाषणमा मात्रै सिमिति रहेको देखिन्छ ।

आखिर कहिलेसम्म निमुखा, गरिब र असहाय समुदाय गुणस्तरी सेवा र उचित उपचार पाइन्छ भन्ने आशमा सरकारी अस्पताल आउने ? त्यही आशा निराशामा परिणत हुँदा अस्पतालको सेवामाथि उनीहरू सँधै आशङ्का गरिरहन्छन् ।

प्रतिक्रिया