सहिद रामवृक्ष यादव ‘मास्टर साहेब’ को २९ औं स्मृति दिवस मनाइयो

जनकपुरधाम । तत्कालिन नेकपा माओवादीका १० वर्षे जनयुद्धको पूर्वसन्ध्याका सहिद रामवृक्ष यादव ‘मास्टर साहेब’ को २९ औँ स्मृति दिवस मनाइएको छ ।

कम्यूनिष्ट आन्दोलनको धरोहर मानिएको सहिद यादवको २९ औं स्मृति दिवस प्रत्येक वर्ष झै यस वर्ष पनि मनाईएको छ । स्मृति दिवस आज(शनिबार) उनकै पैतृक गाउँ गणेशमान चारनाथ नगरपािलका ९ बरमझियामा मनाईएको हो ।

पार्टीका विशिष्ट व्यक्तिहरुले शहिद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् । कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले शहिद यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।

रामवृक्ष यादवले दशकौ अगाडी देखेका सपना अहिले आएर विस्तारै साकार भईरहेको वक्ताहरुले बताए । माओवादी अझै पनि समाजवादको पक्षमा अडिग भएर उभिएको उनीहरुको तर्क थियो । तर, काँग्रेस एमाले लगायतका दलले अझै पनि माओवादी प्रति जालझेल गरिरहेको उनीहरुको आरोप छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ मा जन्मिएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगेका थिए भने २०३१ मा त्यस पार्टीको सक्रिय सदस्यता प्राप्त गरेका थिए ।

निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध जनयुद्धको तयारीमा लागेका बेला वि.स. २०५१ साल भदौ २ गते सहिद यादवको हत्या भएको थियो । मास्टर साहेव नामले चर्चित यादवको छोरा चन्द्र शेखर यादवको समेत जनयुद्धमा हत्या भएको थियो भने श्रीमती रामकुमारी यादवको काठमाण्डौमा खाना पकाउने ग्यास पडकेर आगोमा पोलेर मृत्यु भएको थियो ।

स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्रका सचीव लिलामनी पोखरेल, शहिद पुत्री एवं पूर्व शिक्षा राज्यमन्त्री बोधमाया यादव, शहिद पुत्री एवं उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, केन्द्रिय सदस्य जगत यादव, जिल्ला अध्यक्ष दिपक यादव, रामवृक्ष यादवका त्यो बेलाका समकालीन शोभित यादव, दलित मुक्ति मोर्चाका प्रदेश सचिव बिनोद महरासहितको उपस्थिती थियो ।

प्रतिक्रिया