मुख्यमन्त्रीले मनोमानी गर्न पाउँदैन भन्दै एमाले सांसदको विरोधपछि प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक एमाले सांसदको विरोधपछि स्थगित भएको छ । एमाले सांसदहरुले विकास निर्माणको काममा उपभोक्ता समिति गठन गर्दा निर्वाचित जनप्रतिनिधिको रोहबरमा हुने सहमति कार्यन्वयन नभएको भन्दै विरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित भएको हो ।
सरकारबाट विनियोजित बजेट सञ्चालन गर्न कार्यविधि बनाएपनि मुख्यमन्त्रीले दलका नेताहरुसँग गरेको सहमति नमानेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
एमाले मधेस प्रदेशका दलका उपनेता दिपेन्द्र ठाकुरले सहमति भएको महिनौ बितिसक्दा समेत मुख्यमन्त्रीले कुनै चासो नदेखाएकोले आफूहरुले बैठक अवरुद्ध गरेको बताए ।
एमाले सांसदहरुले जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले सो विषयबस्तुमा जानकारी आइसकेको भन्दै पकट पटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरेका थिए । तर, एमाले सांसदहरुले जवाफ माग्दै विरोध जारी राखेपछि सभामुख मण्डलले १० मिनेटको लागि स्थगित गरे ।
सरकारले मनोमानी गर्दै मधेस सरकारलाई बन्धक बनाउन नपाउने उपनेता ठाकुरले बताए ।






