शिक्षकदेखि नेता उत्पादन गर्ने रा.रा.ब धारासायी बन्दै

जनकपुरधाम । कुनै बेला जनकपुरधाममा मात्रै होईन देशमै प्रख्यात रहेको राम स्वरुप राम सागर बहुमुखी क्याम्पस (राराब) पछिल्लो समय धारासायी बन्दै गएको छ । तत्कालिन अवस्थामा अञ्चलका सम्पूर्ण विद्यार्थीको आस्थाको केन्द्र रहेको क्याम्पसले नेतादेखि प्राध्यापकसम्म उत्पादन गरेको छ । तर, क्रमशः राजनीतिक र शैक्षिक धरातलमा ओरालो लाग्दै जादा क्याम्पसले आफ्नो अस्तित्व नै गुमाउन थालेको देखिन्छ । उक्त क्याम्पसले अचाक्ली विद्यार्थी पाएपनि सफल र कर्मठ क्याम्पस प्रमुखको नेतृत्व भने पाउन सकेको छैन् ।
रा.रा.बमा अहिले १० हजारभन्दा बढि विद्यार्थीहरू अध्ययनरत रहेको क्याम्पस प्रशासनले बताएको छ । तर, चरम राजनीतिक गतिविधिले लथालिङ्ग बनेको क्याम्पसमा अपुग शिक्षक छन् भने त्यहाँ जिम्मेवारी लिएका क्याम्पस प्रमुख प्रदिप कुमार साहले कर्मचारीतन्त्रको हाबी बढेको नागरिक मिररसँग बताए ।
उनले पछिल्लो समय कर्मचारी जिम्मेवार बन्न नसक्दा गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको समेत स्विकारे । नयाँ कोर्स तथा पाठ्यक्रम ल्याएपनि अपुग शिक्षक तथा क्रमशःअवकाश भएका शिक्षक बढेकाले समस्या व्यहोर्न परेको उल्लेख गरे । उनी कर्मचारीको राजनीतिक हावी भएको कारण पठनपाठनमा विद्यार्थीले समस्या भोग्न परेको बताउँछन् ।
रा.रा.बमा ०७५ देखि ०८० सम्ममा २३ जना कर्मचारीहरूले अवकास प्राप्त गरेका छन् भने व्यवस्थापन शाखामा कर्मचारी शुकन दास आउने फाल्गुन २४ मा अवकाश प्राप्त गर्दैछन् । जस पश्चात उक्त शाखामा १ जना कर्मचारीमात्र रहनेछन् । जसले व्यवस्थापकिय पाटो सबै एक्लैले हेर्नुपर्ने वाध्यता हुनेछ ।
त्यस्तै कर्मचारीमा अर्का सामान्य प्रशासन शाखाका महेन्द्र दास तत्मा फाल्गुन ९ मा अवकाश पाउने छन् भने उक्त शाखामा जम्मा ३ जना कर्मचारी रहनेछन् । जसले मुख्यत प्रशासनिक कार्य गर्न असम्भव हुने क्याम्पस प्रमुख साहले बताए ।
त्यस्तै प्रध्यापक तर्फ ०७५ देखि ०८० सम्ममा ३२ जनाले अवकाश पाउँदैछन् । जसमा २७ जनाले अवकाश पाइसकेका छन् भने जम्मा ४ जना अवकाशका लागि केही महिनामात्र रहेको प्रध्यापक रोष्टरमा देखिन्छ । यसरी हेर्दा कर्मचारी र प्रध्यापकहरूको अवकास मात्र रहेको देखिन्छ भने नयाँ कर्मचारी तथा प्रध्यापकको आगमन यस ५ वर्षमा शुन्य रहेको छ । जसका कारण रा.रा.ब सञ्चालन गर्न थप लथालिङ्ग बन्दै गएको गुनासो पोख्छन् क्याम्पस प्रमुख साह ।


‘कर्मचारी र प्रध्यापक नै नभएपछि कसरी कार्यसम्पादन गर्ने भन्ने चिन्ताले पिरोलेको छ ।’ क्याम्पस प्रमुख साहले भने, ‘कर्मचारी अवकाशको दर बढ्दो छ, तर, पदपुर्तीमा त्रि.विको शिक्षा आयोग नखुल्नाले कठिनाई भोग्न परेको छ ।’
‘स्व.वि.यु छ तर प्रशासन छैन्’
०६५ पछि रोकिएको स्व.वि.युले १९ वर्ष पछि नेतृत्व पाएको छ । तर, रा.रा.बले क्रमशः अड्चन र समस्या खेप्न परेको स्ववियु सभापति मनिस यादवले बताए ।
उनले भने, ‘प्रध्यापकहरू राजनीतिक दलका तथा राजनीतिक आस्थालाई मात्र केन्द्रमा राख्ने गरेको कारण समस्या खेप्न परेको छ ।’
स्ववियुले शिक्षालाई तथा परिक्षालाई मर्यादित बनाउन खोजेपनि कर्मचारी तथा प्रध्यापकहरूका कारण क्रमश आरोह र अवरोह झेल्नपरेको बताउँछन् । ‘हामी स्व.वि.यु छौँ तर प्रध्यापक र प्रशासन नभएको जस्तो अनुभूती भएको छ ।’ उनको कुरालाई जोड्दै स्ववियु उपसभापति राजेश कर्ण भन्छन्, ‘कर्मचारी र प्रध्यापक नभए शिक्षाको गुणस्तर अझै अन्योलमा पर्छ । जसका लागि त्रिविसँग पैरवी जरुरी रहेको छ ।’
यी सबै घटनाबारे पुर्व स्ववियु सभापति उमेश चौधरीले कर्मचारीलाई अनावश्यक राजनीति गर्न रोक लगाउन पर्ने बताए । उनी शिक्षालाई थप अव्वल र गुणस्तरीय बनाउन क्याम्पस प्रमुखले सदाचारीता सहित मुख्य भूमिका निर्वाह गर्न पर्ने बताउँछन् ।
उनले आफु २०५१ सालमा स्ववियु सदस्य हुँदा महेन्द्र सिंह क्याम्पस प्रमुखको कथन सम्झिदैँ भने, ‘सिंह सरको जस्तो मिजासीलो र सौहार्दपूर्ण व्यवहार त्यसपछि कहिल्यै रा.रा.बले पाउन सकेन ।’
त्यस्तै शिक्षाविद् डा.राम कुमार ठाकुर भन्छन्, ‘राजनीतिक अखडा र विद्यार्थी राजनीतिको उद्योग देखेकाले क्याम्पसलाई न्याय हुन सकेको छैन् ।’ कुनै बेला राजनीतिक पृष्ठ बनाउन सघाउने यस क्याम्पस क्रमशः लथालिङ्ग बन्दै गएको बताए । ‘यसलाई धारासायी बनाउन नेतादेखि कर्मचारीको प्रमुख देन हो भने क्याम्पसलाई ज्ञान केन्द« भन्दा चोरी अड्डा बनाउने विद्यार्थी पनि उत्तिकै दोषी छन् ।’ यो विषय सबैको नजरमा भएपनि क्याम्पस प्रमुखको मुख्य जिम्मेवारीलाई नजरअन्दाज गर्न नमिल्ने बताउँछन् डा.ठाकुर ।






