सिरहामा हतकडी फुस्काएर भागेका थुनुवा २४ घण्टा नपुग्दै पक्राउ

सिरहा । अदालतमा कानुनी प्रक्रियाका लागि लैजाँदै गर्दा हतकडी फुस्काएर फरार रहेका एक जना थुनुवालाई प्रहरीले २४ घण्टा नपुग्दै पुनः पक्राउ गर्न सफल भएको छ । बाल यौनदुर्व्यहारको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका लहान नगरपालिका–२१ बस्ने ३० वर्षीय छोटु सदाय शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय सिरहामा मिसिल देखाउने क्रममा गेटबाट फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय लहान सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक विनेश यादवको कमाण्डमा ६ जना प्रहरी कर्मचारीहरूले ३ जना थुनुवा लिई जिल्ला अदालत सिरहा कानुनी प्रक्रियाको लागि पठाएकोमा सदाय भने भाग्न सफल भएका थिए । उनी फरार भएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाले व्यापकरुपमा प्रहरी परिचालन गरी खोजतलास गरेको थियो ।
इलाका प्रहरी कार्यलय लहान सिरहाबाट प्रहरी सहायक हवल्दार देव कुमार यादवको कमाण्डमा सादा पोसाकमा खटिएको टोलीले सदायलाई कल्याणपुर नगरपालिका वडा नं. १२ थलहामा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सदायमाथि पुस ५ गते जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं.०३ स्थित दिनाजपुर सरन्सिया भित्री सडक खण्डमा पैदल आउँदै गरेकी नाबालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ ।






