जानकी मन्दिर महन्त विवाद : बाहिर अयोध्या भार पठाउने विवाद देखिए पनि भित्री कुरा अर्कै !
आपत्ति जनाउँदै अदालतमा मुद्दा दर्ता

जनकपुरधाम । बेलाबेला चर्चामा आइरहने जानकी मन्दिरको महन्त विवाद एकपटक फेरि उत्कर्षमा पुगेको छ।
भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरबाट कोसेली पठाउने विषयले नयाँ विवाद उत्पन्न गराइदिएको हो। २२ जनवरीका दिन राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट पनि विभिन्न कोसेली पठाउने तयारी भइरहँदा जानकी मन्दिरका महन्तहरूबीच विवाद चुलिएको हो।
भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको उद्घाटन हुने भएपछि रामको ससुराली जनकपुरधामबाट कपडा, फलफूलसहितका कोसेलीले भरिएका ११ सय थाल पठाउने तयारी भइरहेको थियो। तर, अब मन्दिरका मुख्य महन्त राम तपेश्वर दास वैष्णवले कोसेली नपठाउने प्रतिक्रिया दिएका छन्।
तीन दिनअघि मन्दिरका छोटा महन्त रामरोशन दासले पत्रकार सम्मेलन गरी भारतको आयोध्यमा हुने राम मन्दिरको उद्घाटन समारोहमा रामको ससुराली जनकपुरधामबाट विभिन्न प्रकारका कोसेली पठाउने बताएका थिए।
जानकी मन्दिरबाट पठाइने भनिएको केसेलीमा मन्दिरको कुनै संग्लनता नरहेको मुख्य महन्त रामतपेश्वरले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन्।
मन्दिरका दुई महन्तबीचको विवादका कारण अयोध्या कोसेली पठाउने वा नपठाउने विषयमा अन्यौल उत्पन्न भएको छ।
वीरगञ्जमा विश्राम गर्ने र भोलि बिहान् वीरगञ्जको जानकी नगर प्रवेशद्धार हुँदै बेतिया कुसिनगर सिर्दाथनगर गोरखपुर हुदै आयोध्या पुगेर राती विश्राम गर्ने र ६ जनवरीको बिहान सम्पुर्ण कोसेली राम मन्दिर ट्रस्टलाई जिम्मा लगाउने छोटा महन्त रामरोशन दासले जानकारी दिए।
‘राम मन्दिरसँग जनकपुरबासीको आस्था जोडिएको छ, मन्दिरको उद्घाटनमा कोसेली लिएर मधेश प्रदेशका आठै जिल्लाबासीहरू जान आतूर छन्। कसैको आस्थामाथि कसैले रोक लगाउन सक्दैन’ छोटा महन्त रामरोशनले भने, ‘जानकी मन्दिरका महन्त रामतपेश्वर शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहुन्न। उहाँलाई सुताउन उठाउन दसजनाको आवश्यकता पर्छ। त्यसैले उहाँ जान चाहनु भएको छैन।’
जनकपुरबाट कोसेली दिने इच्छुक व्यक्तिका लागि जानकी मन्दिरमा स्टल राख्ने र नाम र ठेगानासहित कोसेली उपल्बध गराइदिन छोटा महन्त रामरोशनले अह्वान समेत गरेका छन्। उनले कूटको कार्टुन भन्दा बाँसको चगेरामा सजाएर कोसेली मन्दिरमा ल्याँउन जनकपुरबासीमा आग्रह गरेका छन्।
कोसेली लिएर जाने सबैजना एकै रंगको लुगा लगाउन र टाउकोमा कोसेली बोकेर राम मन्दिर पुग्ने तयारी रहेको छोटा महन्त रामरोशनले जानकारी दिए। तर, कोसेली पठाउने विषयमा जानकी मन्दिरमा मुख्य महन्त रामतपेश्वर दास सहमत छैन। उनले भने‘ राम मन्दिर प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन्। रामरोशन मेरै शिष्य हो। उनले कसरी कोसेली लिएर जाने कुरा ग¥यो मलाई जानकारी छैन। तर जानकी मन्दिरबाट कोसेली जादैन्। त्यो सम्भव पनि छैन्।
मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुनाले कोसेली लिएर गएपनि कुनै वास्ता नगर्ने बताए। उनले भन, ‘कोसेली लिएर नजान पनि भन्दिनँ। यदि जान्छ भने उसैले जानोस्।
दुई महन्तबीच विवाद किन ?
मन्दिरका मुख्य महन्त राम तपेश्वर दास र छोटा महन्त रामरोशन दासबीच यसअघि पनि विवाद देखिँदै आएको छ। मन्दिरको अबको उत्तराधिकारी को हुने विषयमा दुबै महन्तबीच विवाद उत्पन्न भएदेखि नै जानकी मन्दिरको कामकाज बेलाबेला चर्चामा आइरहन्छ।
मुख्य महन्त रामतपेश्वरले आफ्ना शिष्य मनोज दासलाई उत्तराधिकारी बनाउन खोजिरहेका छन् भने छोटा महन्त रामरोशन दासले सबै जिम्मेवारी आफूमा तान्न खोजिरहेको बुझिएको छ। छोटा महन्त रामरोशन दासको कामकाजप्रति मनोज दासले आपत्ति जनाउँदै अदालतमा मुद्दा नै दर्ता गराएका छन्।
आफू वरिष्ठ रहेको भन्दै मन्दिरको अबको उत्तराधिकारी आफू हुनुपर्ने मागसहित मनोज दासले जिल्ला अदालत धनुषामा करिब एक वर्ष अघि मुद्दा दर्ता गराएका छन्।






