आजपनि मुख्यमन्त्रीहरूको बैठक जारी, प्रधानमन्त्रीलाई भेट्ने तयारी

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज पनि जारी रहनेछ। आजको बैठकमा बिहीवार भएको छलफलबारे १ घन्टाको समय छुट्याइएको छ। बिहान १० बजेदेखि ११ बजेसम्म बिहीवारको बैठकमा भएको छलफलबारे निष्कर्ष र निर्णय सुन्नेछन्।
त्यसपछि ११ बजेदेखि उनीहरूको आफ्नो बैठक सुरु हुनेछ। यसमा ५ महिनाअघि पोखरामा भएको बैठकका निष्कर्ष र निर्णय कार्यान्वयनमा भए गरेका प्रगति वा अवरोध बारे बृहत् छलफल हुने जनाइएको छ। साथै प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्र र त्यसको कार्यान्वयनको अवस्थाबारे पनि छलफल हुने बताइएको छ।
छलफलबाट आएको निष्कर्ष र निर्णयहरू बोकेर मुख्यमन्त्रीहरू काठमाडौँ प्रधानमन्त्रीलाई भेट्न आउनेछन्।
बैठक सकिए पछि सातै प्रदेशका मुख्यमन्त्रीहरूको भोलि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न काठमाडौँ आउने कार्यक्रम रहेको छ।
बिहीबार साँझबाट हेटौंडामा सुरु भएको सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको बैठकबाट आएको निष्कर्ष र निर्णयहरू लिएर उनीहरू प्रधानमन्त्री दाहाललाई भेट्न काठमाडौँ आउन लागेका हुन्।
मुख्यमन्त्रीहरू बिहीबारदेखि बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रादेशिक तथा स्थानीय अधिकार सुनिश्चित गर्ने विषयमा छलफलमा जुटेका छन्।
संवैधानिक अधिकार प्रत्यायोजनमा संघिय सरकारले कन्जुस्याइँ गरिरहेको आरोप लगाउँदै आएका मुख्यमन्त्रीहरूले एक आपसमा पटक–पटक छलफल गरिरहेका छन्।
समयमै संवैधानिक अधिकार प्रत्यायोजन नभएको र त्यसले प्रदेशको समग्र विकासमा वाधा पुगेको भन्दै उनीहरूले पटक–पटक प्रधानमन्त्री दाहालमार्फत संघिय सरकारलाई दबाब दिँदै आएका हुन्।
प्रहरी समायोजनलगायतका आफ्ना धेरै मागहरू पुरा नभएको भन्दै यसअघि उनीहरूले प्रधानमन्त्री दाहाललाई काठमाडौँमै भेटेर ज्ञापन पत्र समेत बुझाइसकेका छन्। आफ्ना मागहरू पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।






