जलवायु न्यायका लागि युवाहरुको सक्रियता

जनकपुरधाम । पछिल्लो समय जलवायु परिवर्तन र प्राकृतिक स्रोत दोहनका कारण मानव जीवन नै संकटमा परेको छ । विकास निर्माण र मानव जीवनलाई सहज बनाउने नाममा भैरहेको प्रकृतिको दोहनले अन्य जीवजन्तुको अस्तित्व पनि खतरामा जादै गरेको अवस्थामा मधेस प्रदेशका युवाहरुलाई जलवायु न्याय र मानव अधिकार का विषयमा दुई दिने तालिम दिइएको छ।

धनुषाको लालगढमा युथ एड्भोकेसी नेपालले आयोजना गरेको जलवायु न्याय र मानव अधिकार सम्बन्धि तालिममा मधेस प्रदेशका विभिन्न पालिका का ३० जना युवायुवतीहरुलाई तालिम दिइएको कुरा आयोजक संस्थाका केन्द्रीय सदस्य तथा तालिममा सहजकर्ताको भुमिका निर्वाह गरेका दिवाकर उप्रेतीले बताए। तालिमको सुरु दिन आयोजक संस्थाका सल्लाहाकार नरेन्द्र खतिवडाले जलवायु परिवर्तन,यसका समस्या र समाधान का बारेमा प्रस्तुतिकरण गरेका थिए भने मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख मञ्जु खतिवडाले मानव अधिकार, लैङ्गिक समानता र जलवायु परिवर्तन सम्वन्धी प्रस्तुतिकरण गरेका थिए।

त्यस्तै दोस्रो दिन लैङ्गिक असामनताले निम्ताएको समस्यामा मधेस प्रदेश कार्यालयका प्रतिनिधि झम्केस्वर ओझाले लैङगिकता र जलवायु न्यायका विषयमा प्रस्तुतिकरण गरेका थिए। सहभागी युवाहरुले आ आफनो पालिका मा यी समस्याहरु माथि केन्द्रित रहेर काम गर्ने बारे कार्ययोजना समेत बनाएका थिए।

जसरी पृथ्वीमा मानिसहरुको जनसँख्या तिव्र गतिमा बढीरहेको छ , त्यसरी नै उनीहरुको आवश्यकता पनि बढिरहेको छ। त्यस अर्थमा मानिसहरूले आफ्नो आवश्यकतापुर्ति गर्ने क्रममा वातावरण माथि प्रतिकूल असर परिरहेको छ। त्यसैले यस विषयमा युवाहरु सचेत भएर आगाडि बढ्नु पर्ने र जलवायु न्यायका लागि लड्नु पर्ने भएकाले युवाहरुलाई प्रशिक्षण दिएको कुरा आयोजक संस्थाका सल्लाहाकार नरेन खतिवडाले बताए । तालिम केआइओएस फाउण्डेशनले आर्थिक सहयोग गरेका थिए।







