राष्ट्रिय सभा निर्वाचन : आज र भोलि उम्मेदवारविरुद्धको उजुरीउपर छानबिन

काठमाडौं । निर्वाचन आयोगले आज र भोलि राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरी उपर छानबिन गर्दैछ।
आयोगले मङ्गलवार मनोनयन दर्ता गएका उम्मेवारहरुविरुद्ध उजुरी दिन सक्ने कार्यतालिका बनाएको थियो।
राष्ट्रिय सभाका १९ सिटका लागि सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए। तीमध्ये २ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा एक÷एक वटा उजुरी परेका छन्।
सुदूरपश्चिममा काँगे्रसबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायण भट्ट र कर्णालीमा माओवादी केन्द्रको दलित कोटाबाट उम्मेदवारी दिएका विष्णु बिकविरुद्घ उजुरी परेको हो। दुवै उम्मेदवार विरुद्ध क्रमशः एमालेका उम्मेदवार रामचन्द्र जोशी र हिक्मत बिकले उजुरी दिएका हुन्।
एउटामा अपाङ्गतासम्बन्धी कागजात नभएको र अर्कोमा प्रतिनिधिसभा सदस्यको बन्द सूचीमा नाम भएको भन्दै उजुरी दिइएको छ।
उजुरी उपर जाँचबुझ र छानबिन भएपछि पुस २७ गते शुक्रवार भने नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका छ।
उम्मेदवारलाई पुस २८ मा निर्वाचन चिह्न प्रदान गरिने छ। माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सात प्रदेशमा एक/एक मतदान स्थल र दुई÷दुई मतदान केन्द्र कायम गरिएको पनि आयोगले जनाएको छ।






