सर्लाही : एसपीको घुमुवा हतियारसहित भारतीय प्रहरीको नियन्त्रणमा, हाकिम अनभिज्ञ

सर्लाही । नेपाल प्रहरीका एकजना घुमुवा(सिभिल)लाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत वरिष्ठ हवलदार छविलाल साहलाई भारतिय प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
भारतीय प्रहरीले हवलदार साहलाई आईतवार बिहान ९ बजे नारायणपुर नाकाबाट चाईनिज पेस्तोलसहित नियन्त्रणमा लिएको बुझिएको छ | तस्करसँग भेट्न गएको उनलाई भारतीय प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको श्रोतले जनाएको छ।
यता बिहानैदेखि भारतीय प्रहरीको नियन्त्रणमा रहेको विषयमा एसपी प्रविन धिताल र डीएसपी दिपेन्द्र पंजियार थारू अनभिज्ञ छन् । एसपी धितालले आफु गृहमन्त्रीको स्कर्टिमा रहेको भन्दै यस विषयमा हालसम्म त्यस्तो जानकारी नरहेको बताए । यता डीएसपी थारू पनि हलवारबारे जानकार नरहेको प्रतिक्रया जनाए ।
आजै गृहमन्त्री नारायणकाजी श्रेष्ठ मलंगवा कारागारको उदघाटन गर्न मलंवा आईपुगेका छन् ।
उनलाई नाकामा लाईन दिएर एसपीले तस्करहरूसँग असूली गर्न खटाएको बुझिएको छ।
घुमुवा प्रहरी साह सर्लाहीमा आएदेखिनै विवादमा तानिदै आएको छ । जिल्ला प्रहरी कार्यालयका एकजना पर्हरी कर्मचारी भन्छन्-भारतीय प्रहरीको नियन्त्रमा रहेको साह पहिले पनि हाकिमलाई गलत रिपोर्टिङ गर्ने देखी एउटा काममा जान्छु भनी तस्करी गराउनेसंग भेटेर संगठनको छविमाथि आँच ल्याउने जस्ता कार्य गरिरहेको थियो | यतिसम्मकी एसपी सावले नै उसको नेतृत्वमा विवादास्पद प्रहरीहरू पनि खटाएका छन् ।
भारतीय प्रहरीको नियन्त्रणमा रहेको हवलदारलाई छुटाउन अहिलेसम्म पहल नभएको बुझिएको छ ।






