जनमतका मन्त्रीहरूलाई आजै हटाइदिन्छु : मुख्यमन्त्री सरोजकुमार यादव

काठमाडाैँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्ने बताएका छन् । जनकपुरमा महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमतका मन्त्रीलाई तत्काल हटाउनुपर्ने बताएका हुन् ।
जनमत पार्टीका मन्त्रीहरू इज्जत लुकाएर सरकारमा बसेको मुख्यमन्त्री यादवले उल्लेख गरेका थिए । मुख्यमन्त्री यादवले जनमतका मन्त्रीहरूले मधेश विश्वविद्यालयका रजिष्ट्रार र भीसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धन हाे भन्दै जनमतलाई प्रश्न गरेका छ ।
उनले माघ ११ सम्म जनमतलाई सरकारमा राख्ने कुरामा सहमत नभएको भन्दै तत्काल हटाउनुपर्ने बताएका हुन् । उनले भने, ‘गठबन्धनलाई बाटो नहेरौँ । तपाईंहरू सब पछि हटाउनुहोला, म त आजै हटाइदिन्छु । उहाँहरु जस्ताे हिंसक मान्छेलाई सरकारमा राख्नु हुँदैन ।’
मधेश प्रदेशको सरकारमा जनमतबाट शिक्षा तथा समाजकल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह रहेका छन् । पछिल्ला दिनमा मधेशमा जनमत र जसपाबीच निकै विवाद बढ्न थालेको छ । हिजोदेखि मधेश कृषि विश्वविद्यालयको विषयमा समेत विवाद भइरहेको छ । जसले गर्दा राजविराज क्षेत्र तनावग्रस्त भएको थियो ।






