धनुषाधाम संरक्षित वनमा भिषण आगलागी, निभाउने प्रयास जारी

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित रहेको धनुषाधाम संरिक्षत वनमा भिषण आगलागी भएको छ । दिउँसो करिब ११ बजेर ४० मिनेटमा वनमा आगलागी भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक किरण लामाले जानकारी दिएको छ ।
वनमा भएको आगलागी अहिले दिउँसो तीन बजेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरी निरीक्षक लामाले बताएको छ । उनका अनुसार नियन्त्रणमा बाहिर रहेको आगलागी क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणको प्रयास भईरहेको छ ।
चारवटा बारुण यन्त्रले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भएपनि जोडले चलेको हावाको कारण आगलागी नियन्त्रणमा लिन नसकिएको प्रहरी निरीक्षक लामाले बताएको छ ।
आगलागी तिब्र रुपमा फैलिरहेको छ । गाउँ नजिकै रहेको वनमा भएको आगलागीले स्थानीयहरु त्रसित भएका छन् । आगलागीले लाखौं रुख विरुवाहरु जलेर नष्ट भएपनि अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

नियन्त्रण बाहिर रहेको आगलागी नियन्त्रणको लागि छिमेकी जिल्लाहरुबाट बारुण यन्त्र पठाईदिन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले गुहार लगाएको छ ।
आगलागी नियन्त्रणमा नआए धनुषाधाम बजारसँगै टाँसिएकै बजार तथा छेउछाउका गाउँमा समेत आगो पस्न सक्ने सम्भावना रहेको छ ।






