जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक विदा

जनकपुरधाम । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लाहरुमा सोमबार नै नै होली मनाईएपनि जनकपुरधाम लगायत आसपासका क्षेत्रहरुमा आज धुमधामका साथ मनाइँदैछ । विहानैदेखी नगरको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अबीर दली होली पर्व मनाईरहेका छन् ।

१५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह(पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिका मंगलबार मनाउन लागिएको हो । यतिमात्रै होईन जनकपुरधाममा केहीले भोलि बुधबार पनि होली मनाउने बुझिएको छ । मंगलबार माछा, मासु नखानेहरुले आज नभई भोली पनि मनाउने बुझिएको हो । यता जनकपुरधाम बाहेक मधेश प्रदेशका अन्य जिल्ला तथा जनकपुरधाम अवस्थित धनुषा जिल्लाकै विभिन्न ठाउँमा सोमबार नै होली मनाई सकिएको छ ।

होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ ।

होलीका लोकगीत, संगीतले आज बिहानैदेखि जनकपुरधाम गुञ्जाएमान भएको छ । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ। ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुशी लाग्ने पारामा जिक्स्याउने प्रचलन छ।

होलीका गीत मधेशमा फरक–फरक किसिमले गाइन्छ। यस अवसरमा कसैले गाली गर्दा कोही केही मतलव राख्दैनन् तर कतिपय झगडा नै गर्छन्। ज्वाइँहरु प्रायः ससुराली जाँदैनन् किनभने साला–सालीले बढी सताउँछन्।

फागू पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाइ पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन रहेको छ। खानापछि एक अर्कालाई अंगालो मारी माया–प्रेम बाँड्ने चलन छ।

दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिबल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ।

मधेशको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ। यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ ।

अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो ।

यस अवसरमा मधेस प्रदेश सरकारले आज पनि सार्वजनिक विदा दिएको गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले जनाएको छ ।

मापसे गरी सवारी नचलाउन धनुषा ट्राफिक प्रहरी धनुषा प्रहरीको अनुरोध

होलीमा मादक पदार्थ सेवन गरी सवारी नचलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक शेखर साहले होलीको माहौलमा मादक पदार्थ सेवन गरी सवारी नचलाउन र मोटरसाईकलमा दुई भन्दा बढी जना नबस्न पनि आग्रह गरेको छ ।

उनले अनुरोध बाबजुद पनि नियम उलंघन गरेमा दिनभरि बसाएर राख्ने चेतावनी समेत दिएको हो । मोटरसाईकलमा दुई जनाभन्दा अधिक बस्दा दुर्घटनाको सम्भावना उच्च हुने गरेको भन्दै उनले त्यस्तो अवस्थामा पक्राउ परेमा दिनैभरि कार्यालयमा होल्ड गर्ने चेतावनी दिएको छ ।

‘होली पर्वको दिन समेत ट्राफिक नियमको पालना गरी सवारी साधन चलाउन समेत अनुरोध गर्दछु, उनले भने, मोटरसाईकल चलाउदा अनिवार्य रुपमा हेल्मेटको प्रयोग गरी हेल्मेटको पेटीसमेत बाधेर चलाउन आग्रह गर्दछु ।’ होली मनाउने नाममा अनियन्त्रित रुपमा तिब्र गतिमा सवारी चलाउने, अर्धनग्न शरिर देखाएर हो । हल्ला गर्दै मोटरसाईकल चलाउने कार्य गरेमा तत्कालै नियन्त्रणमा लिएर अबेर साँझ मात्र प्रक्रिया पूरा गरेर रिहा गर्ने उनले भने ।

सडकलाई होली मनाउने स्थलको रुपमा प्रयोग नगरौं । ट्राफिक नियमको पालना गरी दुर्घटना हुनबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं। भन्दै ट्राफिक प्रहरी धनुषाले जिल्लावासीमा अनुरोध गरेको हो ।

प्रतिक्रिया