जनकपुरधाममा दोश्रो मेयर कप टी–२० लिग क्रिकेट प्रतियोगिता हुँदै

जनकपुरधाम । जनकपुरधाममा भोलि(शुक्रबार)देखि दोश्रो मेयर कप टी–२० लिग क्रिकेट प्रतियोगिता २०८० हुन लागेको छ । उपमहानगरपालिका वडा नम्बर–१४ स्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजना, क्रिकेट संघ धनुषाको संयोजन र क्यानको सहकार्यमा प्रतियोगिता हुन लागेको छ । जसको तयारी लगभग पुरा भएको प्रतियोगिताका संयोजक तथा धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी दिएको छ ।
मधेश प्रदेशको आठ वटै जिल्लाबाट आठवटा टिम सहभागि हुने खेलको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले भोलि(शुक्रबार) १० बजे गर्नेछ । प्रतियोगितालाई दुई पुलमा विभाजन गरिएको संघका अध्यक्ष पाण्डेले बताए । जसमा पुल ए मा धनुषा, महोत्तरी, सर्लाही र सिरहा खेल्नेछ । भने पुल बी मा बारा, पर्सा रौतहट र सप्तरी खेल्नेछ ।
चैत २४ गतेसम्म हुने प्रतियोगितामा जिल्ला क्रिकेट संघले छनौट गरेर पठाएको खेलाडीहरु खेल्ने जनाइएको छ ।
प्रतियोगितामा बिजेता टिमले नगद २ लाख ५१ हजारसहित कप, मेडल प्रमाणपत्र र उपबिजेत हुने टिमले नगद १ लाख ५१ हजारसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिने क्रिकेट संघका अध्यक्ष पाण्डेले बताए ।
प्रत्येक खेलमा म्यान फ द म्याच हुनेलाई ३ हजार, म्यान अफ द सिरिज हुनेलाई १५ हजार, बेस्ट बलरलाई १० हजार र बेस्ट ब्याट्सम्यानलाई १० हजार नगद पुरस्कार र सिल्ड कप लगायत प्रदान गरिने उनले बताए ।
शुक्रबार साढे ११ बजेदेखि सुरु हुने पहिलो प्रतियोगितामा पुल एका टिम धनुषा र सर्लाही खेल्नेछ ।






